आईपीएलमा चेन्नईको लगातार दोस्रो हार, राजस्थानको पहिलो जित
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
515
Shares
गुवाहाटी । राजस्थान रोयल्स (आरआर)ले आईपीएल २०२५ को खेलमा चेन्नई सुपर किंग्स (सीएसके)लाई ६ रनले पराजित गरेको छ। यो जितसँगै राजस्थानले यस सिजनको पहिलो जित दर्ता गरेको छ भने चेन्नईले लगातार दोस्रो हार बेहोरेको छ।
आइतबारको खेलमा राजस्थानले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८२ रन बनाएको थियो। नीतिश राणाले उत्कृष्ट ब्याटिङ गर्दै ३६ बलमा ८१ रन बनाए भने कप्तान रियान परागले ३७ रनको योगदान दिए। चेन्नईका बलरमध्ये खलील अहमद, नूर अहमद र मथिश पाथिरानाले समान २-२ विकेट लिए।
१८३ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो। चेन्नईलाई अन्तिम ३० बलमा ६१ रन आवश्यक थियो, तर धोनी र जडेजाले सुस्त ब्याटिङ गर्दा दबाब बढेको थियो। डेथ ओभरमा आवश्यक रन रेट कायम राख्न नसक्दा चेन्नई पराजित हुन पुग्यो ।
कप्तान ऋतुराज गायकवाडले ६३ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। महेन्द्रसिंह धोनीले ११ बलमा १६ रन बनाएर आउट भए भने रवीन्द्र जडेजा ३२ रनमा अविजित रहे। राजस्थानका वानिन्दु हसरंगाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए।
यो हारसँगै चेन्नई सुपर किंग्सको लागि आईपीएलको सुरुवात कठिन बनेको छ भने राजस्थान रोयल्सले महत्वपूर्ण जित हासिल गरेको छ।