काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा चेन्नई सुपर किंग्स (सीएसके) लाई उनीहरूकै घरेलु मैदानमा हराएको छ । एमए चिदम्बरम स्टेडियममा १७ वर्षपछि सीएसकेलाई पराजित गर्दै आरसीबीले सनसनीपूर्ण जित दर्ता गरेको छ। आरसीबीले सन् २००८ यता पहिलो पटक चेन्नईमाथि उसको मैदानमा जित पाएको हो। यो जित आरसीबीका लागि ऐतिहासिक क्षण बनेको छ । चेन्नईको अभेद्य मानिएको किल्लालाई आरसीबीले ध्वस्त पारेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९६ रनको विशाल स्कोर खडा गरेको थियो। आरसीबीका लागि रजत पाटीदारले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । ओपनर फिल साल्टले ३२ रन बनाई आरसीबीलाई आक्रामक सुरुआत दिलाए। अर्का ओपनर विराट कोहलीले ३१ रनमात्र बनाउन सके। दुवैलाई देव्रेहाते स्पिनर नुर अहमदले आउट गरे। देवदत्त पाडिकलले १४ बल खेल्दै समान २ चौका र छक्कासहित २७ रन बनाए।
१९७ रनको लक्ष्य पछ्याएको सीएसकेले सुरुवातदेखि नै संघर्ष गर्यो। आरसीबीका बलरहरूले कसिलो बलिङ गर्दै सीएसकेका ब्याट्सम्यानहरूलाई दबाबमा राखे। जोश हेजलवुडले आफ्नो उत्कृष्ट स्पेलमा महत्वपूर्ण विकेटहरू लिएर सीएसकेको ब्याटिङ लाइनअपलाई धराशायी बनाए। सीएसकेले २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन मात्र बनाउन सक्यो।
चेन्नईका लागि राहुल त्रिपाठी ५, कप्तान ऋतुराज गायकवाड शून्य, दीपक हुडा ४ र करन ८ रनमा आउट भए । ओपनर रचिन रवीन्द्रले ४१ रन, दुबेले १९ रन बनाए। रवीन्द्र जडेजाले २५ र अश्विनले ११ रन बनाए । महेन्द्रसिंह धोनीले ३० रन बनाए।
आरसीबी यस सिजनमा लगातार दुई खेल जित्ने पहिलो टोली बनेको छ । रोयल च्यालेन्जर्स बैंगलुरूले आफ्नो उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको थियो। १७५ रनको लक्ष्य बैंगलुरूले १६.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। विराट कोहलीले अविजित ५९ रन बनाएका थिए, भने फिल साल्टले ५६ रनको योगदान दिएका थिए।
यो खेल चेन्नईका लागि यस सिजनको पहिलो हार हो । चेन्नईले आफ्नो पछिल्लो खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको थियो। मुम्बईले पहिले ब्याटिङ गर्दै १५५ रन बनाएको थियो, जसलाई चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो।