arrow

बाँदरले सताएपछि उपभोक्ताले मागे बन्दुक, आहार नहुँदा घरपालुवा पशुपन्छी खाइदिन थालेको भन्दै आक्रमक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
monkey-badar.jpg

पाल्पा । बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरेका छन् । स्थानीयले लगाएको खेती बाँदरले नष्ट पार्नुका साथै मानिसलाई आक्रमण गर्न थालेको भन्दै सुरक्षाका लागि भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरेका हुन् । 

जिल्लास्थित डिभिजन वन कार्यालयले आयोजना गरेको कार्यक्रमका सहभागी उपभोक्ताले बाँदरका कारण गाउँमा असुरक्षा बढेको र खाद्यन्नसमेत नष्ट भएको भन्दै भरुवा बन्दुक राख्न स्वीकृत दिनुपर्ने माग गरेका छन् । 

स्थानीयले गाउँका सबै मिलेर बाँदर धपाउन विभिन्न उपायहरू खोजे पनि त्यो सम्भव नरहेकाले विकल्पका रूपमा भरुवा बन्दुक राख्न पाउनुपर्ने अनुमति सरकारले दिनुपर्ने बगनासकाली गाउँपालिकाकी सरस्वती बस्यालले बताइन् ।

अधिकांश जग्गा बाँझो हुँदै जाँदा बाँदरको आहारमा कमी भएपछि घरघर पसेर अन्नबाली खाइदिने, केटाकेटीलाई आक्रमण गर्ने भएकाले सुरक्षाका लागि भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरिएको उनको भनाइ छ । बाँदर मांसहारी भए पनि अहिले आहार नहुँदा घरपालुवा कुखुरा, परेवालगायत पशुपन्छी खाइदिन थालेको भन्दै आक्रमक बनेकाले बाँदर आतङ्क नियन्त्रणका लागि सरकारले कडा कानुन बनाउनुपर्नेमा उनले जोड दिइन् । 

बस्यालले गाउँमा पाकेका मकैका घोगा देख्न छाडिसके, फलफूल तरकारी सबै बाँदर र बँदेलले खाएर नष्ट गरेका बताइन् । “काखका साना छोराछोरीलाई घरमा छोडेर काममा जान डर हुन थाल्यो । बाँदर घरमा आएर अँगेना र चुलाको छेउमा खानेकुरा खोज्न थाल्छन् । मानिसलाई हातमुख जोड्न मात्रै नभएर जीवन जोगाउनै गाह्रो हुन थालेको छ”, उनले भनिन् । 

भूपति भट्टराईले हिउँद र वर्षाका बेला पाक्न लागेको बाली जोगाउन बारीमा पहरा दिए पनि जोगाउन मुस्किल परेको बताए । अन्न खान आएको बाँदरलाई धपाउँदा उल्टै मान्छेतिर जाइलाग्ने र आक्रमण गर्ने गरेको उनले सुनाए । 

सामुदायिक वन महासङ्घ तानसेन नगरकी अध्यक्ष भवानी गौतमले बाँदर नियन्त्रण चुनौतीका रूपमा रहेकाले नियन्त्रण गर्न ऐन, नियम बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले महासङ्घकोतर्फबाट सरकारलाई पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदै आइएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ