तामाकोशी आयोजनामा चिनियाँ कम्पनीले मजदुर सामु टेक्यो घुँडा, सेवा सुबिधा सबै दिने, आजदेखि काम चालु
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
1.3k
Shares
दोलखा । एक सातादेखि विभिन्न पेशागत मागहरु राखेर सबै काम बन्द गर्दै आन्दोलनमा उत्रिएका तामाकोशी पाँचौँ जलविद्युत आयोजनाका मजदुर र चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबीच श्रमिकका सबै मागहरु सम्बोधन गर्ने सहमति भएको छ ।
रोजगारी सम्झौता लगायतका पेशागत मागहरु अघि सार्दै आन्दोलनमा उत्रिएका नेपाली मजदुर र ठेकेदार कम्पनी चिनियाँ सिनो हाइड्रो केएसएनएस जेभीबीच मंगलबार आयोजना निर्माणस्थल बिगु ४ सुरिटारमा सहमति भएको हो ।
नेपालको प्रचलित श्रम ऐन अनुसार आयोजनामा खटिने नेपाली मजदुरलाई तोकिएको सेवा सुबिधा उपलब्ध गराउने सहमतिपछि आजबाट आयोजनाका सबै काम चालु हुने भएको हो ।
मजदुरहरु आन्दोलनमा उत्रिएपछि एक सातादेखि तामाकोशी पाचौँ आयोजनाका सम्पूर्ण काम पूर्ण रुपमा बन्द भएको थियो ।
मंगलबार सम्पन्न वार्तामा मजदुर र ठेकेदार कम्पनीबीच नेपाल सरकारले तोकेको ८ घण्टा श्रम गरेबापत श्रम ऐन अनुसारको पारिश्रमिक उपलब्ध गराउने , वार्षिक रुपमा ज्याला वृद्धि गर्ने, दुर्घटना बिमा गर्ने, चाडपर्व खर्च उपलब्ध गराउने, औषधि उपचार बिमा गरिने, मजदुरहरुलाई किरिया बिदा, सुत्केरी बिदा दिने जस्ता श्रम ऐनमा उल्लेख भएका सामान्य सुविधासहित रोजगारी सम्झौता उपलब्ध गराउने लिखित सहमति भएको नेपाली मजदुरहरुका अगुवा जीवन मगरले जानकारी दिएका छन् ।
उनका अनुसार बुधबारबाट आयोजनाका सबै काम चालु हुने छन् । सहमति पत्रमा आयोजना निर्माणको जिम्मा पाएको सिनो हाइड्रो केएसएनएस जेभीका तर्फबाट प्रोजेक्ट मेनेजर छेन, सोसिएल मेनेजर जाङ र नेपाली मजदुरको तर्फबाट मदनकुमार श्रेष्ठ, जीवन मगर, दुर्गाप्रसाद आचार्य, अशोक सुवेदी, किरण ठकुरी र रन्जित ठकुरीले हस्ताक्षर गरेका छन् ।
लामो समयदेखि चिनियाँ कम्पनीले नेपाली कामदारलाई दुःख दिँदै आइरहेको छ । सहमति गर्दै तोड्दैसमेत आइरहेको छ ।