काभ्रे बहुमुखीमा एमाले र माओवादीको गठबन्धनलाई हराउँदै कांग्रेसको गठबन्धन विजयी
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ चैत ६ बुधबार
856
Shares
काभ्रे । काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको प्यानल नै विजयी भएको छ ।
नेकपा एमाले निकट अनेरास्वियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको गठबन्धनबाट सभापतिका उम्मेदवार बनेका अनेरास्ववियुका मिलन गौतमलाई १ सय ५३ मतको भारी मतले हराउँदै सभापतिमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका उम्मेदवार रोहिन पराजुली निर्वाचित भएका हुन् ।
पराजुलीले २ सय ७२ मत र गौतमले १ सय १९ मत ल्याएका थिए । कुल ५ सय ४१ मत मध्ये ३ सय ९६ मत खसेको थियो ।
सचिवमा नेविसंघकी तीर्थकुमारी भुर्तेल, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरुमा सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुकी सन्ध्या गिरी र सुनिता गुँइत निर्वाचित भएका छन् ।
काभ्रे क्याम्पसमा नेविसंघ र नेकपा एसको अनेरास्ववियुले गठबन्धन गरेको थियो ।
जिल्लाका अन्य १५ वटा क्याम्पसमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्वियु क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) र अखिल समाजवादीबीच नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति भएको थियो ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा प्रत्यक्ष निर्वाचन भएको जिल्लाको एकमात्र काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघ पहिलो विद्यार्थी संगठन दरिएको छ ।
प्रत्यक्षतर्फ ठूलो सफलता हासिल गरेको नेविसंघ संगठनलाई भोट हाल्ने समानुपातिक प्रणालीमा पनि पहिलो भएको हो ।
कुल सदर ३ सय ९१ मत मध्ये नेपाल विद्यार्थी संघले २ सय ५४, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले १ सय १९ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले २० मत प्राप्त गरेका छन् । समानुपातिकतर्फ उम्मेदवारी दिएकालाई पनि संगठनले पाएको मतको अनुपातमा निर्वाचित घोषणा गरिनेछ ।