arrow

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
PNC Pokhara.jpg

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेले सूचना प्रकाशित गरी अर्को मिति तय नभएसम्मका लागि मतदान कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

सूचनामा मंगलबार साँझ ७ बजे अखिल छैठौँ र नयाँ शक्ति विद्यार्थी युनियनले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका कारण निर्वाचन कार्यक्रम स्थगित गरिएको उल्लेख छ । अब सर्वपक्षीय छलफलबाट मात्रै नयाँ निर्वाचन मिति तय हुने सूचनामा उल्लेख छ ।

मंगलबार हुने भनिएको निर्वाचनको मतदान कार्यक्रम मतपत्रमा भएको त्रुटिका कारण विवाद भएपछि बुधबारका लागि सारिएको थियो । बुधबार बिहान ८ बजेदेखि नै मतदान शुरु हुने कार्यक्रम तय भएको थियो ।

यसअघि मतपत्र छापेर मतदानका लागि तयारी गर्दै गर्दा अखिल छैठौँका उम्मेद्वारको नाम मतपत्रमा रहे पनि मतदान गर्ने कोस्ट छुटेको पाइएपछि विवाद भएको थियो ।

मतदानका कार्यक्रम एकाएक रोकिएपछि क्याम्पस आसपासका क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो विद्यार्थीले पटकपटक क्याम्पसको गेट तोड्ने प्रयास गरेका थिए भने टायर बालेर प्रदर्शनसमेत गरेका थिए । प्रहरीले पटकपटक विद्यार्थीमाथि लाठी चार्ज गरेको थियो ।

पृथ्वीनारायण क्याम्पसको २२औं स्ववियु अध्यक्ष बन्न आठ जना चुनावी मैदानमा छन् । प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ वटा संघ, संगठन, प्यानल दर्ता भएका छन् ।

स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) बाट नवीन अधिकारी, अखिल (छैटौं) बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन् । कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेद्वार छन् ।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल (छैटौं), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत प्राडा पोखरेलले जानकारी दिए । क्याम्पसमा नौ हजार दुई सय ७० मतदाता छन् ।

यसैबीच स्ववियु निर्वाचनमा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका कमल सुवेदीले अविलम्व मतदान कार्य सुचारु गर्न माग गरेका छन् ।

उनले एक विज्ञप्ति प्रकाशित गरी कुनै पनि बाहनामा निर्वाचनका कार्यक्रम नरोक्न, भयरहित वातावरणमा मतदान कार्यक्रम सुचारु गर्न माग गरे ।

उनले क्याम्पस दलीय भातृ संगठन मुक्त हुनुपर्नेमा जोड दिँदै आएका छन् । सुवेदीले दलीय भातृ संगठनका कारणले नै पृथ्वीनारायण क्याम्पसमा यस्तो अप्रिय घटना हुन पुगेको उल्लेख गरे ।

मंगलबार बिहानसम्म निकै सौहार्दपूर्ण वातावरण रहेको क्याम्पसमा दलकै कारण एकाएक खल्बलिन पुगेको सुवेदीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ