काठमाडौँ । युगान्डामा भइरहेको चार देशीय टी–२० महिला क्रिकेट श्रृंखला अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज हङकङविरुद्ध खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ बजेदेखि शुरु हुनेछ । यस श्रृंखलामा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो ।
नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र आयोजक युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । नेपालले युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो ।
अब तेस्रो स्थानमा लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ खेल्न लागेका हुन् ।
त्यस्तै फाइनलमा भने शीर्ष स्थानमा रहेको युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया अपरान्ह खेल्दैछन् ।