काठमाडौँ । भारतमा भएको तेस्रो सिजनको महिला प्रिमियर लिग (डब्ल्यूपीएल) को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मुम्बईको ब्राबोर्न स्टेडियममा खेलिएको फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको महिला टिमलाई ८ रनले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो ।
मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रनमात्र बनाएपछि मुम्बई ८ रनले विजयी भएको हो ।
दिल्लीका लागि मारिजाने कापले सर्वाधिक ४० रन जोडिन् । मुम्बईका लागि नाट सिभर ब्रुन्टले २ तथा एमेलिया केरले २ विकेट लिइन् ।
यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । प्लेयर अफ द फाइनल एवं मुम्बईकी कप्तान हर्मनप्रित कौरले ४४ बलमा ६६ रन बनाइन् ।
पाँच टिमले गरेको प्रतिस्पर्धामा मुम्बईबाट खेलेकी इङ्गल्याण्डकी अलराउन्डर ब्रुन्ट प्लेयर अफ द सिरिज बनिन् ।
इन्डियन प्रिमियर लिग (आईपीएलको लोकप्रियतापछि भारतीय क्रिकेट बोर्डले शुरु गरेको महिला प्रिमियर लिगको यो तेस्रो सिजन हो । जसमा मुम्बईले सन् २०२३ को पहिलो र यो सिजन गरी दुई उपाधि जितेको छ भने सन् २०२४ को उपाधि रोयल च्यालेन्जर्स बैंगलुरूले जितेको थियो ।
महिला प्रिमियर लिगमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सका आलावा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरू र युपी वारियर्स गरी पाँच टिम खेल्ने गर्दछन् ।
१० टीम सहभागी आईपीएल भने २२ मार्चदेखि शुरु हुँदैछ ।