arrow

हड्डी बलियो पार्ने उपाय

logo
डा कपिलमणि केसी, 
प्रकाशित २०८१ चैत २ शनिबार
dr-kapilmani-kc-81-12-2.jpg

जसरी एउटा घर बलियो हुनुमा त्यो घरका पिलरहरु बलियो हुन जरुरी छ, त्यसैगरी हाम्रो शरीर पनि हृष्टपुष्ट र बलियो हुनको लागि हड्डीहरु बलियो हुन आवश्यक छ। यद्यपि हड्डी कसरी बलियो बनाउने भन्ने बारेमा आम मानिसहरुमा ठोस जानकारी नहुन सक्छ। त्यसकारण यो लेख सान्दर्भिक हुनसक्छ । 
 
नियमित ब्यायाम गर्न सक्नु हड्डी बलियो पार्ने एउटा प्राकृतिक माध्यम हो । हामीहरुले देखेको कुरा हो कि गाउँमा बसेर काम गर्ने  मानिसहरुका हात र खुट्टाहरु ठूला-ठूला आकारका हुन्छन् भने शहरमा बसेर जागिर गर्ने मानिसहरुका हात र खुट्टा साना आकारका भए पनि त्यसको ठीक विपरीत यी मानिसहरुका भुँडी भने ठूला आकारका हुन्छन् । 

यद्यपि सबै केसमा यो लागू नहुन सक्छ । यसको उत्तर स्पष्ट छ । गाउँमा बस्ने मानिसहरुलाई चाहेर वा नचाहेर पनि बढी काम गर्नु पर्दछ । त्यसकारण हड्डी बलियो बनाउनको लागि ब्यायामको निकै जरुरी छ। 

हड्डी बलियो बनाउन दुई प्रकारका ब्यायामको आवश्यक पर्दछ। एकथरी ब्यायाम हिँड्ने, दौडने, नाच्ने, उफ्रने पर्दछन् भने अर्को थरी ब्यायाममा तौल उठाउने पर्दछ जसले गर्दा हातको मांसपेसी र हड्डी दुवै बलियो र ठूलो हुन्छ । 

सानो उमेरदेखिनै ब्यायाम गर्ने बानी  एकदमै लाभदायक हुन्छ। अर्को कुरा ब्यायाम थोरै गरे पनि नियमित गरिरहे मात्र फाइदा गर्छ ।  

धेरै बिरामीहरुले जब शरीरको वजन बढ्छ, तब ब्यायाम गर्न शुरु गर्छन् । कति मानिसहरु त हौसिएर एकै पटक शुरुआती अवस्थामै धेरै ब्यायाम गर्न खोज्छन् । 

कहिल्यै  ब्यायाम नगरेका शरीरको वजन बढी भएका ४०/ ५० को उमेर भएका मानिसहरुले एकै पटक कडा ब्यायाम गर्दा हड्डी बलियो हुनुको सट्टा धेरै हानि हुन्छ । जस्तो कि हड्डी खिइने, हड्डी दुख्ने । 

त्यसकारण हड्डी बलियो पार्नको लागि ब्यायाम विस्तारै बढाउँदै लैजानु पर्दछ । नियमित गर्नु पर्दछ । लामो समयसम्म गर्नुपर्दछ । र, सकेसम्म सानो उमेरदेखि नै गर्नु पर्दछ । 

हड्डी बलियो पार्ने अरु प्राकृतिक उपायहरु पनि छन् । हामीहरुले खाने दैनिक भोजनमा सागसब्जी, हरियो तरकारी हुन जरुरी छ । न कि धेरै भात खाएर मात्र शरीर वा हड्डी बलियो हुने होइन। दैनिक भोजनमा क्याल्सियम हुन आवश्यक छ। 

दूध दहीमा क्याल्सियमको मात्रा बढी हुन्छ। हड्डी बलियो बनाउनको लागि भिटामिन डीको पनि निकै ठूलो भूमिका छ जुन चिज घामबाट प्राप्त हुन्छ । 

घाम बाहेक सामुन्द्रिक माछा, अण्डा, कलेजो तथा च्याउमा पनि भिटामिन डी केही मात्रामा पाइन्छ। खानामा जिङ्क तथा म्याग्नेसियम जस्ता तत्व हुन आवश्यक छ। त्यसैगरी खानामा प्रोटिन हुन आवश्यक छ। खानामा  प्रोटिन कम भएमा हड्डी राम्रोसँग बलियो हुन पाउँदैन । 

माथि उल्लेख गरिएका तथ्यहरु बाहेक अर्को महत्वपूर्ण कुरा  शरीरको वजन ठीक सन्तुलनमा राख्ने हो। शरीरको तौल धेरै कम भएमा पनि हड्डी कमजोर हुन्छ भने असामान्य रुपमा ज्यादा भएमा पनि हड्डी त्यति बलियो हुँदैन।

धुमपान, मध्यपान तथा सुर्तीजन्य चिजहरुले पनि हड्डी कमजोर पार्ने हुनाले त्यस्ता चिजहरुबाट पनि टाढा रहनु पर्दछ । (अमेरिकाबाट एफएसीएस तथा बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा आवद्ध छन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ