जनकपुरधाममा अन्तगृह परिक्रमासँगै धार्मिक यात्रा सम्पन्न [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
578
Shares
काठमाडौँ । जनकपुरधाममा १५ दिने मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तगृह परिक्रमासँगै धार्मिक यात्रा सम्पन्न भएको छ।
शुक्रवार बिहान लाखौं श्रद्धालुहरूको सहभागितामा सम्पन्न यो परिक्रमा मिथिलाको महत्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ। मध्यमा परिक्रमा गर्न नसकेका भक्तजनहरूले अन्तगृह परिक्रमामा सहभागी भएर धार्मिक लाभ लिएका छन्।
धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोला सहित सुरु भएको मध्यमा परिक्रमा बिहीवार साँझ जनकपुरधाम फर्किएको थियो। फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौं श्रद्धालुहरूले १५ किलोमिटर वरिपरिको क्षेत्र परिक्रमा गर्दै अन्तगृह परिक्रमा गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार, अन्तगृह परिक्रमा गरेमा १५ दिने परिक्रमासरह फल प्राप्त हुने विश्वास गरिन्छ। परिक्रमा सम्पन्न भएपछि श्रद्धालुहरू जानकी मन्दिर र राम मन्दिरमा दर्शन गर्न पुग्छन्, जसपछि मिथिलाञ्चलमा होली पर्व विधिवत रूपमा सुरू भएको मानिन्छ।
धर्मशास्त्रहरूमा वृहत, मध्यमा, र अन्तगृह गरी तीन परिक्रमाको उल्लेख गरिएको छ। परम्पराअनुसार, अन्तगृह परिक्रमाको दिन जनकपुरधाम नगर क्षेत्रमा प्रशासनले दुई दिनसम्म माछा–मासु बिक्रीमा रोक लगाउने गर्दछ। यही कारण जनकपुरधाम र आसपासका क्षेत्रमा होली पर्व शनिबार मनाइनेछ, भने मधेस प्रदेशका केही जिल्लाहरूमा आजै होली मनाइँदैछ।