काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । मंगलबारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले विधि निर्माणको प्रक्रिया सुस्त भयो भन्ने जनगुनासो आएको भन्दै समितिमा विचाराधीन रहेका विधेयकलाई छिटो टुङ्गो लगाइ सभा समक्ष पेस गर्न आग्रह गरे ।
उनले सभाले पनि छिटो पारित गर्न आवश्यक काम गर्नुपर्नेमा सरकार रहेको बताए । भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय आवश्यकता महसुस गरेर ल्याएको र धितो पत्रसँग सम्बन्धित लगायतका केही विधेयकहरू पनि चैत्र मसान्तसम्म समितिबाट सभामा पेस गर्ने गरी छल फल अघि बढाउन आग्रह गरे ।
उनले भने, ‘विधि निर्माणको काम स्लो भयो भन्ने जनस्तरबाट आवाज आइरहेको छ । विचाराधीन विधेयकलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउने र सभामा पेस गर्ने काम होस् । साथै सभाबाट पनि छिटो पारित होस् भन्ने सरकारको धारणा छ । राष्ट्रिय आवश्यकता महसुस गरिएको विधि निर्माणको कामलाई सरकारले आफ्नो ढङ्गले अघि बढाइरहेको छ । धितो पत्रसँग सम्बन्धित विधेयक पनि छिटो भन्दा छिटो समितिमा ल्याइयोस् । सकेसम्म चैत्र मसान्तसम्म आवश्यक निर्णय गरेर सभा समक्ष पेस होस् । समिति समक्ष विचाराधीन विधेयकहरू आवश्यकताको दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले यथाशक्य चाँडो निष्कर्षमा पुग्न आग्रह गर्दछु ।’