ट्रम्पको दुर्व्यवहारपछि लण्डन पुगेका जेलेन्स्कीले बेलायतसँग गरे ऋण सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
2.2k
Shares
काठमाडौँ । अमेरिकाको विवादित भ्रमणपछि बेलायत पुगेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गरेका छन् ।
यस क्रममा, जेलेन्स्कीले स्टारमरलाई उनको अटल समर्थनको लागि धन्यवाद दिए । सो क्रममा स्टारमरले युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति बेलायतको प्रतिबद्धता दोहोर्याएका थिए ।
दुई नेताहरूको यो भेटवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जेलेन्स्कीको बहसको एक दिन पछि भएको थियो ।
बैठकमा दुई नेताहरूले युक्रेन र युरोपले सामना गरिरहेका चुनौतीहरू, अन्तर्राष्ट्रिय सहयोग र बलियो सुरक्षा ग्यारेन्टी सहितको न्यायपूर्ण शान्ति प्राप्त गर्ने प्रयासहरूबारे छलफल गरेको बीबीसीले उल्लेख गरेको छ ।
भेटघाटपछि जेलेन्स्कीले इन्स्टाग्राममा एउटा पोस्ट शेयर गर्दै लेखे, ‘प्रधानमन्त्री केयर स्टारमरसँग फलदायी र न्यानो भेटघाट भयो । हामीले युक्रेन र युरोपले सामना गरिरहेका चुनौतीहरू, सहयोग र न्यायपूर्ण शान्तितर्फका कदमहरूबारे छलफल गर्यौं ।’
बैठकको क्रममा युक्रेन र बेलायतले युक्रेनको रक्षा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झुता अनुसार बेलायतले युक्रेनलाई २.८ बिलियन डलर ऋण सहयोग गर्ने छ ।
हाल बेलायतले युक्रेनलाई वार्षिक रुपमा गरिरहेको ३.७ बिलियन डलरभन्दा अतिरिक्त भएको बताइएको छ । यी ऋणको रकम बेलायतले रोक्का गरेको रुसी सम्पत्तिको आम्दानीबाट भुक्तानी गर्ने भएको छ ।
‘आज युक्रेन र संयुक्त अधिराज्यले ऋण सम्झौतामा हस्ताक्षर गरे’, जेलेन्स्कीले एक्समा एक पोस्टमा भने । यो ऋणले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउनेछ र रूसी सम्पत्तिबाट प्राप्त हुने राजस्वबाट भुक्तानी गरिनेछ ।
‘यो साँचो न्याय हो । युद्ध सुरु गर्नेले मूल्य चुकाउनै पर्छ’, जेलेन्स्कीले बेलायत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘युद्धको शुरुआतदेखि नै बेलायतका जनता र सरकारलाई सहयोग गरेकोमा म धन्यवाद दिन्छु।’ सुरक्षित भविष्यको लागि उही दृष्टिकोण साझा गर्न पाउँदा हामी खुशी छौँ ।
जेलेन्स्कीसँगको भेटपछि, स्टारमरले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरे जसमा उनले युक्रेनमा चलिरहेको युद्धमा रुस विरुद्ध बेलायतको दृढ अडानलाई जोड दिए । 'जेलेन्स्कीलाई डाउनिङ स्ट्रिटमा स्वागत गर्न पाउनु र युक्रेनको लागि मेरो अटल समर्थन दोहोर्याउनु सम्मानको कुरा थियो', स्टारमरले लेखेका छन् ।
स्टारमरले जेलेन्स्कीलाई अँगालो हालेर भित्र बोकेको भिडियो पनि शेयर गरेका छन् । स्टारमरले लेखेका छन्, ‘बेलायत आज र सधैं युक्रेनको साथमा उभिन्छ । म रुसको अवैध युद्धको अन्त्य गर्ने र युक्रेनको भविष्यको सार्वभौमसत्ता र सुरक्षा सुरक्षित गर्ने न्यायपूर्ण र दिगो शान्ति सुनिश्चित गर्ने बाटो खोज्न कटिबद्ध छु ।’
स्टारमर र जेलेन्स्कीसँगको भेटघाट युरोपेली नेताहरूको शिखर सम्मेलन अगाडि भएको हो, जहाँ युक्रेनमा ुन्यायपूर्ण र दिगो शान्ति सुनिश्चित गर्नु समर्थन बढाउने कुरामा छलफल केन्द्रित हुनेछ । अमेरिकाले युक्रेनलाई समर्थन गरिरहने कि नेटोलाई निरन्तरता दिने भन्ने चिन्ता बढ्दै जाँदा शिखर सम्मेलनले युरोपको रक्षा सहयोग बढाउने आवश्यकतामाथि पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई अपमान गर्दै तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको हो ? भन्दै रुसी समर्थन गर्दै बाहिर जान भनेपछि अताल्लिएका जेलेन्स्की बेलायत पुगेका हुन् ।
जेलेन्स्कीले लन्डनमा आइतबार युरोपेली नेताहरुको समिटमा भाग लिने बताइएको छ । युक्रेन युद्धको विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री स्टारमरले युरोपेली नेताहरुको समिट गर्न लागेका हुन् ।
ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण घटनाक्रमपछि जेलेन्स्की अमेरिकासँग कुनै सम्झौता नगरी बेलायत पुगेका हुन् ।