प्रदीप गिरीको नामबाट ल क्याम्पसमा नमूना संसदीय सभा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ११ आइतबार
704
Shares
काठमाडौँ । नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पसले आजदेखि नेपालको प्रतिनिधि सभाको नमूना रूप तयार गर्दै नमूना संसदीय सभा आयोजना गर्ने भएको छ। स्वर्गीय प्रदीप गिरीको नेपाली राजनीतिमा योगदान र उनको निर्विवादित छविलाई कदर गर्दै प्रदीप गिरीकै नामबाट यो संसदीय सभाको नामकरण गरिएको छ।
“प्रदीप गिरी स्मृति नमूना संसदीय सभा - २०८१” नामाकरण गरिएको यस कार्यक्रममा करिब १०० जना विद्यार्थीहरूको सहभागिता हुनेछ । प्रदीप गिरी स्वच्छ राजनीति चाहने सम्पूर्ण का लागि एक आदर्श व्यक्तित्व भएकाले उनको योगदानलाई कदर गर्दै विद्यार्थीहरूको अध्ययन, तर्कशीलता र नेतृत्व प्रोत्साहनका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पसका इकाई सभापति अ. मोहम्मद माजिद परवेजले जानकारी दिए ।
तीन दिने यस संसदीय सभामा विद्यार्थीहरूलाई चार फरकफरक पार्टीमा विभाजन गरिनेछ। राष्ट्रिय उदारवादी पार्टी, नेपाल नागरिक पार्टी, बृहत गणतान्त्रिक पार्टी र नागरिक समाजवादी दल गरी चार फरक पार्टी रहनेछन् ।
गोला प्रथाबाट यी चार पार्टीहरूमा विद्यार्थीहरूलाई विभाजन गरिनेछ भने कुन कुन पार्टी मिलेर सरकार बनाउने र को प्रतिपक्षमा बस्ने भन्ने टुङ्गो सोही पार्टीका सांसदहरूबाट हुनेछ । त्यसपछि प्रधानमन्त्री, मन्त्रीहरू, हरेक पार्टीका सचेतक, प्रमुख प्रतिपक्ष दलको नेता आदिको चयन पनि प्रक्रियाबमोजिम नै हुनेछ।
कार्यक्रम संयोजक आशिष सापकोटा भन्छन्, “अरु नमूना संसदीय सभाहरूमा सहभागीहरूलाई मन्त्रालय र पद पनि गोलाप्रथाबाट नै टुङ्गो लगाइने र मात्र संसद्को कार्यविधि हु बहुरुपमा गरिने भएतापनि यो नमूना संसदमा हामीले विद्यार्थीहरूलाई पार्टीमा विभाजन गरिसकेपछि सरकार र प्रतिपक्षको गठन, पदहरू र अन्य सबै कुराको प्रक्रिया स्वयं विद्यार्थीहरूमा सुम्पिने नयाँ प्रयास गरेका छौँ ।”
प्रदीप गिरी स्मृति नमूना संसदीय सभामा “सामाजिक सञ्जाल विधेयक - २०८१” लाई विधेयक प्रस्तुतकर्ता मन्त्रीले प्रस्तुत गर्ने र त्यसैमाथि सैद्धान्तिक र दफावार छलफल चलाइनेछ।
सभापति माजिद परवेजले अहिले आम नागरिकको जनचासो भएको विषय सामाजिक सञ्जाल विधेयकमा कानुनका विद्यार्थीहरु बीच छलफल चलाउन सके यसबाट निस्किएको निष्कर्ष आयोजकले सांसदहरूसँग पुर्याउने र त्यसले यो विधेयकलाई थप शुद्धिकरणका लागि सहयोग पुर्याउने कुरा आयोजकले अपेक्षा गरेको बताए ।
आज पहिलो दिन प्रदीप गिरी स्मृति नमूना संसदीय सभाको अभिमुखीकरण र कार्यविभाजन हुनेछ भने फागुन १२ गते हरेक पार्टीको लागि एकएक सल्लाहकार नियुक्त गरी सहभागीहरूलाई पार्टीगत प्रशिक्षण दिइनेछ।
फागुन १३ गते नमूना संसदीय सभाको मुख्य दिन रहनेछ जहाँ संसदको प्रक्रिया अगाडि बढाइनेछ ।