केआईआईटीमा नेपाली विद्यार्थी आत्महत्याको सत्यतथ्य छानबिन गर्न नेविसंघको माग
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
820
Shares
काठमाडौँ । नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पसले भारतको उडिसास्थित कलेज अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आत्महत्याको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
उक्त घटना हृदयविदारक भएको भन्दै नेविसंघले सोमबार साङ्केतिक रुपमा विरोध तथा दवाव सिर्जना गर्न दीप प्रज्वल्वन कार्यक्रम गरेको छ । यो घटनामा एक भारतीय विद्यार्थी संलग्न रहेको बताइएको भन्दै बताइन्छ।
दोषी विद्यार्थीविरुद्ध औपचारिक उजुरी दिइए पनि विश्वविद्यालय प्रशासनले कुनै कारबाही नगरेको भन्दै छानबिनका लागिसमेत माग गरिएको छ ।
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूले अन्यायको विरोध गर्दा र जवाफदेहिता माग्दा विश्वविद्यालय प्रशासनले उनीहरूलाई समर्थन गर्नुको सट्टा दबाब दिने नीति अपनाएको समेत नेविसंघले जनाएको छ ।
समस्याको वास्तविक समाधान खोज्नुको सट्टा केआईआईटी प्रशासनले नेपाली विद्यार्थीहरूलाई होस्टल खाली गर्न निर्देशन दिएको, चरम लापरवाही र गैरजिम्मेवारीपन देखाएको भन्दै नेविसंघले आक्रोश पोखेको छ ।
केआईआईटीमा ८०० भन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन् तर उनीहरू आफ्नो सुरक्षाबारे असुरक्षित महसुस गरिरहेका छन् ।
नेविसंघ नेपाल ल क्याम्पसले प्रकृति लम्सालको न्यायका लागि मृत्युबारे निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न, दोषी विद्यार्थी र लापरबाही गर्ने विश्वविद्यालय प्रशासनविरुद्ध तत्काल कानूनी कारबाही गर्न र केआईआईटी तथा भारतका अन्य शिक्षण संस्थामा नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक सुरक्षा उपायहरू अपनाउन माग गरेको छ ।