arrow

क्यान्सर विरुद्धको अभियान

बाह्र दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप, फागुन ६ गतेसम्म चल्ने

माघ २२ गते शुरु भएको अभियान फागुन ६ गतेसम्म चल्ने, सहयोगी सबैलाई स्वास्थ्य मन्त्री पौडेलले व्यक्त गरे आभार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
hpv-vaccine-ani-cancer-.jpg

काठमाडौँ । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानमा अहिलेसम्म १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।

अभियानको १२ औँ दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरुले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यस हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरु, स्वयंसेवक, सहयोगी विद्यालय लगायत सबै सहयात्रीहरुलाई अनवरत मेहनतका लागि भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।

माघ २२ गते शुरु भएको अभियान फागुन ६ गतेसम्म चल्नेछ ।

अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरुलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप प्रदान गरिएको छ ।

अबको अवधिमा छुटेकाको पहिचान गरी खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।

मन्त्री पौडेलले पदभार सम्हालेपछि पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका थिए । त्यसयता क्यान्सरको उपचार सातै प्रदेशमा पुर्याउने निर्णय कार्यान्वयनमा आइसकेको छ ।

क्यान्सरविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने मन्त्री पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा उल्लेख छ । सोही अनुसार किशोरीहरुलाई खोप दिने कार्यक्रम अघि बढाइएको प्रवक्ता बुढाथोकीले बताए ।

नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरुको संख्या उच्च छ । सानै उमेरमा खोप प्रदान गरेर यो समस्या कम गर्ने योजनाअनुसार निरोधात्मक विधि अन्तर्गतका कार्यक्रमसमेत अघि बढिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ