प्रयागराज महाकुम्भमा कीर्तिमानी ५० करोड भन्दा बढी श्रद्धालु, राहुल र प्रियंका आइतबार डुब्ने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ३ शनिबार
646
Shares
प्रयागराज । भारतको उत्तरप्रदेशमा अवस्थित महाकुम्भमा ३३ दिनमा ५० करोडभन्दा बढी भक्तजनले स्नान गरेका छन् ।
यो इतिहासमा रेकर्ड गरिएको सबैभन्दा ठूलो संख्याको रूपमा रेकर्ड भएको छ । ४५ दिनसम्म चल्ने महाकुम्भ सकिनका लागि अझै ११ दिन बाँकी छ ।
भारतीय समाचार माध्यमले भारत र चीनको कुल जनसङ्ख्यापछि तेस्रो ठूलो जनसङ्ख्या बराबरका मानिस प्रयागराज पुगेका उल्लेख गरेका छन् ।
भारतको जनसंख्या १ अर्ब ४१ करोड भन्दा बढी छ । दोस्रो ठूलो चीनमा १ अर्ब ४० करोड जनसंख्या छ ।
महाकुम्भमा मात्रै ५० करोड भन्दा बढी पुगेका छन् ।
ब्रजिलको रियो फेस्टिवल वा जर्मनीको अक्टोबर फेस्टिभलमा हुने भीड यसको तुलनामा केही होइन । फेब्रुअरी ९ बाट शुरु भएको रियो कार्निवल १७ फेब्रुअरीसम्म चल्ने छ । जसमा दैनिक २० लाख मानिसले अवलोकन गर्ने गर्दछन् । त्यस्तै १६ दिनसम्म चल्ने जर्मनीको अक्टोबर फेस्टमा करिब ७० लाख मानिस सहभागी हुने गरेको रेकर्ड कायम छ ।
तर महाकुम्भमा ३३ दिनमा ५० करोडभन्दा बढी भक्तजनले स्नान गरेका छन् । यो इतिहासमा रेकर्ड गरिएको सबैभन्दा ठूलो उपस्थितिको घटनाको रूपमा उल्लेख भएको छ ।
शनिबार र आइतबार पनि ठूलो भीड हुनसक्ने प्रशासनको अनुमान छ् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि लखनउमा बैठक गरेर वरिष्ठ अधिकारी आफैँ सडकमा उत्रिएर हरेक तहमा जवाफदेहिता कायम गर्न निर्देशन दिइसकेका छन ।
मुख्यमन्त्री योगीले प्रयागराज महाकुम्भ जाने बाटोमा कतै पनि जाम नहुने बताएका छन् । ‘भक्तजनलाई कुनै समस्या नपरोस्, जाम भयो भने त्यहाँका पदाधिकारीको जवाफदेही हुनेछन्’ उनले भने ।
उता, कांग्रेस सांसद राहुल गान्धी र प्रियंका गान्धीले आइतबार महाकुम्भमा डुबकी लगाउने भएका छन् । कांग्रेस स्रोतका अनुसार उनको आगमनको कार्यक्रम लगभग टुङ्गिएको छ ।