arrow

ट्रम्पले मोदीको प्रशंसा गर्दै भने – म भन्दा उत्कृष्ट वार्ताकार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
modi-trump-25-2-13.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गरेका छन् । ह्वाइटहाउसमा भएको भेटवार्ताका क्रममा ट्रम्पले मोदीको प्रशंसा गर्दै आफूभन्दा राम्रो वार्ताकार भएको बताएका हुन् । 

दुई दिने अमेरिकी भ्रमणका क्रममा अमेरिका गएका मोदी ट्रम्पसँग करिब अढाई घण्टा साथमा रहे । 

सो क्रममा द्धिपक्षीय वार्तासमेत भएको छ । त्यसपछि दुवैले मिडियासँग दुई पटक कुराकानीसमेत गरे । मिडियासँग मोदीबारे ट्रम्पले खुलेर प्रशंसा  गर्दै भने – म भन्दा उत्कृष्ट वार्ताकार ।

ट्रम्पले शुल्क लगाउने विषयमा मोदीको तारिफ गर्दै राम्रो मोलभाव गर्ने व्यक्ति भनी बताए । उनले मोदी आफ्नो निकट मित्र रहेको भन्दै मोदीले गरेको कामकोसमेत प्रशंसा गरे । 

ट्रम्पले भारतलाई एफ–३५ फाइटर जेट दिने घोषणा गरेका छन् । त्यस्तै उनले सन् २००८ मा मुम्बई हमलाका आतंककारी तहब्बुर राणालाई भारतलाई सुम्पिने पनि बताए । 

मोदीले पनि ट्रम्पलाई दोस्रो पटक राष्ट्रपति भएकामा बधाई दिए । मोदीले आफू र ट्रम्प मिल्दा एक एक एघार हुने बताए । 

मोदी बिहीबार बिहानै अमेरिका पुगेका थिए । दुई दिने अमेरिका भ्रमणका क्रममा मोदीले अमेरिका पुगेसँगै अमेरिकी राष्ट्रिय खुफिया निर्देशक तुलसी गबार्डसँग छलफल गरेका थिए । 

अमेरिकी संसदको उपल्लो सभाले बुधबारमात्रै गबार्डलाई उक्त पदमा नियुक्त गरेको थियो । 

मोदीले उक्त भेटघाटका क्रममा गबार्डलाई बधाई दिए । सो क्रममा भारत र अमेरिकाबीच राम्रो सम्बन्ध बनाइराख्न कयौँ विषयमा छलफलसमेत भएको थियो । 

यसअघि मोदी अमेरिका पुग्नुअघि फ्रान्स भ्रमणमा थिए । उनले फ्रान्सेली राष्ट्रपतिसँग मिलेर एआई शिखर सम्मेलनको सहअध्यक्षता ग्रहण गरेका थिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ