काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै अमेरिका पुगेका छन् । दुई दिने अमेरिका भ्रमणका रहेका मोदीले अमेरिका पुगेसँगै अमेरिकी राष्ट्रिय खुफिया निर्देशक तुलसी गबार्डसँग छलफल गरेका छन् ।
अमेरिकी संसदको उपल्लो सभाले बुधबारमात्रै गबार्डलाई उक्त पदमा नियुक्त गरेको थियो ।
मोदीले उक्त भेटघाटका क्रममा गबार्डलाई बधाई दिएका छन् । सो क्रममा भारत र अमेरिकाबीच राम्रो सम्बन्ध बनाइराख्न कयौँ विषयमा छलफलसमेत भएको छ ।
यसअघि मोदी अमेरिका पुग्नुअघि फ्रान्स भ्रमणमा थिए । उनले फ्रान्सेली राष्ट्रपतिसँग मिलेर एआई शिखर सम्मेलनको सहअध्यक्षता ग्रहण गरेका थिए ।
आज मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग द्धिपक्षीय छलफल गर्नेछन् । साथै विभिन्न व्यापारी नेताहरुसँग तथा भारतीय समुदायसँग छलफल गर्नेछन् ।
मिडिया रिपोर्टअनुसार मोदीको टिमले कुल ६ बैठकमा सामेल हुनेछ । मोदीको अन्तिम बैठक बिहीबार अपरान्ह (नेपाली समयअनुसार शुक्रबार बिहान २ः४५ बजे) हुनेछ । त्यसपछि मोदीले अमेरिकी राष्ट्रपतिसँग डिनर गर्नेछन् ।
मोदी र ट्रम्पले ह्वाइट हाउसमा मिडियासँग पनि कुराकानी गर्न सक्ने जनाइएको छ । मोदीको अमेरिका यात्रा यस्तो समयमा भइरहेको छ कि सहरमा हिउँका कारण चिसो निकै बढेको छ ।
उनी प्रेसिडेन्स गेष्ट हाउस अर्थात् ब्लेयर हाउसमा रहने छन् ।
मोदी र ट्रम्पबीच शुल्क लगाउने विषयमा कुराकानीसमेत हुनेछ । ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि क्यानाडा, मेक्सिको, चीन, जापान लगायतका देशमा ट्यारिफ (शुल्क) लगाउने घोषणा गरिसकेका छन् ।