साढे तीन वर्षसम्म न्याय नपाएपछि विद्युत प्राधिकरणबाट बिदा भए हितेन्द्रदेव
'धन्यवाद, बाइ बाइ । नमरी बाँचे कालले साँचे फेरि भेट होला, तबसम्म बिट मारेँ है त । नेपाल विद्युत् प्राधिकरण र सम्पूर्ण सहकर्मी साथीहरू जय होस् ।’
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
826
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य न्यायालयबाट न्यायको श्रृंखला नटुंगिदै प्राधिकरणबाट बिदा भएका छन् ।
उनको सोमबार प्राधिकरणको पदावधि सकिएको हो । तर उनी आफ्नो पदावधि नसकिँदै कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएपछि न्याय माग्दै उनी सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्चले सोमबारसम्म पनि न्याय नदिएपछि उनी त्यत्तिकै बिदा भएका छन् । उनको पदावधि रहँदासम्म सर्वोच्चबाट सुनुवाइ नै भएन । उनको मुद्दा थाँतीमा रहँदा रहँदै कार्यकाल भने सकिएको छ ।
अब उनले न्याय पाए पनि कुनै अर्थ छैन । उनको मुद्दा अदालतमा चलिरहँदा यता उनको ठाउँमा नियुक्त गरिएका कुलमानले भने सरकारलाई थर्काउँदै काम गरिरहेका छन् । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारलेसमेत हटाउन सकेन ।
यता न्याय पाउने आशामा अदालतमा मुद्दा हालेका हितेन्द्रदेवले भने अदालत धाउँदा धाउँदा दुःखमात्रै पाए ।
उनले आफूलाई कानून विपरीत प्राधिकरणबाट हटाएको जिकिरसहित सर्वोच्च अदातलमा रिट दर्ता गरेका थिए । उनले ३१ पटक सर्वोच्च अदालतमा तारिख धाए । उनको रिटमा सुनुवाइका लागि १३ पटक इजलास बस्यो तर उनका हकमा कुनै निर्णय आएन ।
उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २७ माघ २०७७ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
केपी नै सरकारमा फेरि आए पनि केही हुन सकेन । जबकि शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेलगत्तै माओवादीको दबाबमा हितेन्द्रदेवलाई हटाउँदै कुलमानलाई नियुक्त गरिएको थियो । सरकारले २०७८ साउन २४ मा शाक्यलाई हटाउँदै घिसिङलाई नियुक्त गरेको थियो ।
न्याय नपाइ बिदा हुनुपर्दा मन गह्रौँ पार्दै उनले सोमबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेखेरै प्राधिकरणका सहकर्मीसँग बिदा लिएका छन् ।
उनले लेखेका छन्, 'धन्यवाद, बाइ बाइ । नमरी बाँचे कालले साँचे फेरि भेट होला, तबसम्म बिट मारेँ है त । नेपाल विद्युत् प्राधिकरण र सम्पूर्ण सहकर्मी साथीहरू जय होस् ।’