प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउन सक्ने अनुमान गरेर त्यसै अनुरुपको तयारी
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
618
Shares
तस्बिर – सोमबार पारेर धार्मिकस्थल काठमाडौँको पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजन, रासस ।
काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रीको तयारी शुरु भएको छ । महाशिवरात्रीको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय एवं भक्तजनको पनि सहभागिता रहेको थियो ।
महाशिवरात्रीमा पशुपतिलाई आकर्षक रुपमा सजाउन रङरोगन गरिने कोषका सदस्य सचिव थापाले बताए । महाशिवरात्रीका लागि पशुपति क्षेत्रमा विभिन्न देवी देवताका आकर्षक भित्ते चित्र पनि बनाइने भएको छ ।
त्यसको काम पनि शुरु भएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा अहिले महाशिवरात्रीको पूर्वतयारीका लागि काम भइरहेको छ ।
यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउनसक्ने अनुमान गरेर त्यसै अनुरुपका तयारी शुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले बताए ।
महाशिवरात्रीमा पशुपतिनाथ आउने साधु सन्त प्रत्येक वर्ष बढ्ने गरेका छन् । यस वर्ष महाकुम्भकै कारण पनि साधु सन्तको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
महाशिवरात्रीको तयारीका लागि सोमबार अथवा मङ्गलबार नै कोष सञ्चालक परिषद्को बैठक बसी अरु तयारीका काम पनि अघि बढाइने भएको छ ।
प्रत्येक वर्ष महाशिवरात्रीका दिन फागुन कृष्ण त्रयोदशीमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् ।
यस वर्ष फागुन १४ गते बुधबार महाशिवरात्री पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।