सिन्धुली । सिन्धुलीगढी युद्ध संग्रहालयमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ ।
नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान किनलोकको अंग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लामा युद्ध संग्रहालयको रुपमा विकास गरिएसँगै अहिले बीपी राजमार्ग भएर यात्रा गर्नेहरू संग्रहालय क्षेत्रमा उक्लने गरेका छन् ।
विसं १८२४ मा भएको नेपाल–अंग्रेज युद्धको ऐतिहासिक दस्तावेज संग्रहित गरी नेपाली सेनाले सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण गरेको हो ।
नेपालकै प्रथम युद्ध संग्रहालयको रूपमा रहेको सो संग्रहालयको उद्घाटन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।
सो युद्ध संग्रहालयमा त्यस समयमा गोर्खाली सेनाले प्रयोग गरेका हातहतियार, बाजागाजालगायत एतिहासिक सामग्रीहरू राखिएको छ ।