तस्बिर– मतदानपछि प्रियंका गान्धी भद्रा र उनका पति रोबर्ट भद्रा, एएफपी ।
काठमाडौँ । भारतको दिल्ली विधानसभाको निर्वाचन भएको छ । बुधबार भएको निर्वाचनपछि अब भइरहेको छ । ७० सिटका लागि भएको मतदानको मतगणना शनिबार हुँदैछ ।
बुधबार भएको चुनावमा ५७.८५ प्रतिशत मत खसेको छ ।
मतदान सकिएपछि एग्जिट पोल आइरहेको छ । विभिन्न ११ ओटा एग्जिट पोलले गरेको अनुमानअनुसार ९ ओटाले भारतीय जनता पार्टी भाजपालाई बहुमत आउने आँकलन गरेका छन् ।
२ एग्जिट पोलले आम आदमी पार्टी (आप) कै सरकार बन्ने अनुमान गरेका छन् ।
पोल आफ पोल्समा भाजपालाई ७० मध्ये ३९, आपलाई ३० र कांग्रेसलाई एक सिटमात्र मिल्ने अनुमान गरिएको छ ।
त्यस्तै जेभीसी र पाल डायरीले आफ्नो एग्जिट पोलमा अन्यलाई एक एक सिट आउने अनुमान गरेका छन् ।
यदि भाजपालााई बहुमत आयो भने २७ वर्षपछि पुनः सत्तामा फर्कने छ । यसअघि सन् १९९३ मा भाजपाले ४९ सिट जितेको थियो । त्यसबेला पाँच वर्षको अवधिमा भाजपाले तीन मुख्यमन्त्री बनाएको थियो ।
दिल्लीमा भाजपाबाट मदनलाल खुराना, साबिह सिंह वर्मा र सुषमा स्वराज मुख्यमन्त्री बनेका थिए ।
हाल तीन जना नेताकै छोराहरु अहिले राजनीतिमा सक्रिय छन् । खुरानाका छोरा हरिश खुराना मोतीनगरबाट र वर्माका छोरा प्रवेश वर्मा नयाँदिल्लीबाट चुनाव लडिरहेका छन् । स्वराजका छोरा बाँसुरी दिल्लीका सांसद छन् ।
यसो भन्छ सर्भे, कसलाई कति सिट ?
सर्वेअनुसार म्याट्रिजले भाजपालाई ३५–४० तथा आपलाई ३२–३७ सिट आउने आँकलन गर्दा कांग्रेसलाई १ सिट छुट्याएको छ ।
पिपुल्स इनसाइटले भाजपालाई ४०–४४ तथा आपलाई २५–२९ सिट आउने अनुमान गर्दा कांग्रेसको भागमा १ सिट रहेको छ ।
त्यस्तै पिपुल्स पल्सले ५१–६० तथा आपलाई १०–१९ सिट आउने आँकलन गर्दा कांग्रेस पत्तासाफ हुने देखाएको छ ।
जेवीसी पोल्सले भाजपालाई ३९–४५, आपलाई २२–३१ तथा कांग्रेसहित अन्यलाई २ सिट आउने अनुमान गरेको छ ।
पी मार्कले भाजपालाई ३९–४९, आपलाई २१–३१ तथा अन्यलाई शून्यदेखि १ सिट आउने आँकलन गरेको छ ।
चाणक्य स्ट्राटजिजले ३९–४४, आपलाई २५–२८ तथा अन्यलाई २ देखि ३ सिट छुट्टाएको छ ।
पोल डायरीले भाजपालाई ४२–५० तथा आपलाई १८–२५ सिट आउने आँकलन गर्दा अन्यले शून्यदेखि २ सिट जित्ने अनुमान गरेको छ ।
डीवी रिसर्चले भाजपालाई ३६–४४ तथा आपलाई २६–३४ सिट जिताउँदा अन्यलाई सिट नै नआउने आँकलन गरेको छ ।
त्यस्तै विप्रिसाइडले भाजपालाई हराउँदा आपलाई जिताएको छ । भाजपाले १८–२३ सिट ल्याउँदा आपले ४६–५२ सिट जित्ने आँकलन गरेको हो । अन्य दलले १ सिटसम्म जित्न सक्ने अनुमान उसको छ ।
माइन्ड ब्रिंकले भाजपालाई २१–२५ सिटसम्म आउने बताउँदा आपलाई ४९ सिटसम्मको स्पष्ट बहुमत आउने आँकलन गरेको छ ।
एसएएसले भाजपालाई ४१ सिटसम्म जित्दा आपले ३० सिटसम्म ल्याउने आँकलन गरेको हो ।
समग्रमा पोल अफ पोल्समा भाजपालाई ३९, आपलाई ३० तथा अन्यको भागमा १ सिट पर्ने देखिएको हो ।
सन् २०२० मा गरिएको एग्जिट पोलमा मात्र एउटा सही भएको थियो । आपले ६२ सिट जित्दा भाजपाले ८ तथा कांग्रेस शून्य भएको थियो ।
सन् २०१५ को एग्जिट पोल सबै गलत भएको थियो । त्यतिबेला आपले ६७ तथा भाजपाले ३ सिट जितेको थियो । कांग्रेस निल भएको थियो ।
कुन कुन दल छन् भिडन्तमा
लोकसभा चुनावमा इन्डिया ब्लकका साझेदार रहेका पाँच पार्टी विधानसभा निर्वाचनमा भने एक आपसमा भिडिरहेका छन् ।
आम आदमी पार्टी (आप) र कांग्रेस सबै ७० सिटमा आपसमा भिडिरहेका छन् । त्यस्तै कम्युनिष्ट पार्टी अफ इन्डियाले ६, कम्युनिष्ट पार्टी अफ इन्डिया मार्कसिस्ट र कम्युनिष्ट पार्टी अफ इन्डिया मार्कसिस्ट लेलिनिस्टले २–२ सिटमा आफ्ना प्रत्यासी उठाएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) ले ६८ सिटमा आफ्ना उम्मेदवार उठाएको छ । दुई सिट सहयोगी पार्टीलाई दिएको छ । जसमा जनता दल युनाइटेड (जेडीयू) र लोक जनशक्ति पार्टी–रामविलास (एजेपी–आर) ले एक एक सिट पाएका छन् ।
महाराष्ट्रमा भाजपाको सहयोगी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ले ३०सिटमा चुनाव लडेको छ । शिवसेना प्रमुख तथा महाराष्ट्रका उपमुुख्यमन्त्री एकनाथ सिन्देले सबै सिटमा भाजपालाई समर्थन गरेको छ ।
त्यस्तै बहुजन समाज पार्टी (बीएसपी) ७०, असरुद्धीन ओवेसीको अल इन्डिया मजलिस–ए–इत्तिहादुल मुस्लिमिनले १२ सिटमा चुनाव लडेको छ ।
यसअघिको निर्वाचनमा आपले बाजी मारेको भए पनि यसपालि भने आपको राजनीति बिग्रिएको छ । भाजपाले सुधार गर्ने अपेक्षा गरिएको छ ।
आपका ६३ प्रतिशत उम्मेदवारमा आपराधिक मुद्दा रहेको छ । आपका ४४ जना उम्मेदवारमाथि उक्त केस रहेको हो ।
त्यस्तै कांग्रेसका २९ तथा भाजपाका २० उम्मेदवार छन् ।
पाँच उम्मेदवारको सम्पत्ति सय करोड भारु भन्दा बढी छ भने ६९९ उम्मेदवारमा महिला संख्या मात्र ९६ रहेको छ ।
दिल्लीमा १८ प्रतिशत मतदाता स्विङ भोटर्स हुन् । तिनै १८ प्रतिशतले नै जितहारको कायापलट गर्ने छन् ।