विराटनगर । मोरङको विराटनगरस्थित कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेजले नेपालमै पहिलो पटक न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई (आईएमआरआई) प्रविधि भित्र्याएर हजारौं बिरामीलाई सफल उपचार प्रदान गर्न सफल भएको छ।
अत्याधुनिक प्रविधिको प्रयोग गरी न्युरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी सल्यक्रिया सम्पन्न गरिँदै आएको नोबेलले जनाएको छ।
यो प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि अनुगमन गर्न मद्दत गर्दछ। जसका कारण शल्यक्रिया गर्दा सम्भावित जटिलता न्यूनीकरण गर्दै थप सुरक्षित, प्रभावकारी र न्यूनतम जोखिमयुक्त उपचार सम्भव भएको छ।
नोबेलमा वरिष्ठ न्युरो सर्जन प्राध्यापक डा. प्रकाश काफ्लेको नेतृत्वमा यो प्रविधि सफलतापूर्वक प्रयोग गरिँदै आइएको छ। उनका अनुसार, न्युरो इन्ट्रा-अप्रेटिभ प्रविधिबाट ब्रेन ट्युमर, स्पाइनल इन्जुरी, पार्किन्सन्स, सेरेब्रल पल्सी, हाइड्रोसेफालस (टाउकोमा पानी जम्ने समस्या), हेड इन्जुरी, स्पाइनल ट्युमर, ब्रेन ह्ययामरेज तथा रगत जमेको समस्या लगायतका गम्भीर न्युरो समस्याको सर्जरी सफलतापूर्वक सम्भव भएको छ।
यो प्रविधिको प्रयोग भर्खर जन्मिएका शिशुदेखि वृद्धसम्मका बिरामीहरूलाई न्यूनतम जोखिममा सफल उपचारको अवसर प्रदान गरिरहेको नोबेलले दाबी गरेको छ।
नेपाल र भारतका हजारौँ बिरामीले यस प्रविधिबाट लाभ उठाइसकेको पनि नोबेलले जनाएको छ । आधुनिक प्रविधि सहितको उपचार सेवा प्रदान गर्दै आएको नोबेल मेडिकल कलेजले न्युरो सर्जरी क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
नोबेल नेपाली कांग्रेसका युवा नेता सांसद डा. सुनीलकुमार शर्माको हो । सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौँ गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन् ।
शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् । डा शर्माले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताले जुनसुकै पार्टीका भए पनि निःशुल्क क्याबिन राखिदिएका छन् ।
साथै डा. शर्माको काठमाडौँको सिनामगलस्थित काठमाडौँ मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका बिरामीलाई निःशुल्क उपचार गर्दै आएका छन् ।