वसन्तपञ्चमी नजिकिँदै गर्दा केशोर र बयरको बजार जम्दै
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
651
Shares
महोत्तरी। वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीसहित मधेसका बजारमा केशोर (माटोमुनि फल्ने फलविशेष) र बयर (रूखमा फल्ने फलविशेष) उत्पादक किसानको व्यस्तता बढेको छ । मधेसको पनि खासगरी प्राचीन मिथिला क्षेत्रमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरिने वसन्तपञ्चमी पर्वमा केशोर र बयर मुख्य प्रसाद सामग्री बन्ने परम्पराले अहिले यी फसलका बजार जम्दै गएका हुन् । यसपालि आउने सोमबार यो पर्व परेको छ ।
मिथिलामा श्रीपञ्चमी पनि भनिने यो पर्वमा बस्तीबस्तीका शिक्षण संस्थामा विशेष उत्सवका रूपमा सरस्वती पूजनोत्सवको अनुष्ठान आयोजना गरिने परम्परा छ । कतिपय घरघरमा पनि वसन्तोत्सव मनाइने परम्पराले यो पर्वविशेषमा केशोर र बयरको माग हुनेहुँदा अहिले यी फसलका उत्पादक किसानलाई भ्याइ नभ्याइ परेको हो ।
महोत्तरीमा उत्तरी क्षेत्रका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा केशोरको व्यावसायिक खेती गरिँदै आइएको छ । बालुमिश्रित खुकुलो माटोमा केशोरखेती फस्टाउने हुँदा जिल्लाका उत्तरी क्षेत्र यो खेतीको उर्वर ठाउँ हो । केशोर खनिएको सात–आठ दिनसम्म ताजै रहने हुँदा यो खेतीका किसानलाई पर्वको एक साता पहिलेदेखि नै खन्ने, धुने र बजार पुर्याउने तल्लिनताले छोप्छ । महोत्तरीको केशोर जिल्ला बाहिरका बजारमा लगिने हुँदा अहिले व्यापारी किसानका खेतखेतमै पुगेर पनि लिने गरेका छन् ।
गुलियो स्वादमा अत्यन्त रसिलो हुने यो फल स्वास्थ्यवद्र्धक मानिन्छ । माघ नै यसको फसल लिने समय भएका हुँदा सरस्वती पूजनोत्सवमा मौसमी फलका रूपमा यसको प्रयोग परम्परा बसेको हुनसक्ने पाका मैथिल बताउँछन् ।
यहाँका किसानले केशोर नजिकका ढल्केबर, लालबन्दी र बर्दिबाससहितका कृषि थोकबजारमा पुर्याउँछन् । अहिले खुद्रामा प्रतिकिलोग्राम रू ५० सम्म बिक्ने केशोर सप्रिदा प्रतिकठ्ठा २० मन (४० किलोको एक मन हुन्छ)सम्म फल्ने हुँदा यो नगदेखेतीका रूपमा लगाइने गरिएको बर्दिबास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादव बताउँछन् । रोपिएको एक सय दिनभित्रै उत्पादन लिन सकिने यो खेती नगद जोहोको मुख्य फसल भएको यादवको भनाइ छ । जिल्लामा केशोरको व्यावसायिक खेती लगभग एक हजार हेक्टरमाथि हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।