यात्रुवाहक विमान र सेनाको हेलिकप्टर आकाशमा ठोक्किए
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १७ बिहिबार
1.4k
Shares
काठमाडौँ । अमेरिकाको वाशिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थल नजिक यात्रुवाहक विमान र हेलिकप्टर आकाशमा ठोक्किएका छन् । विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान र सेनाको हेलिकप्टर आकाशमा ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए) ले जनाएको छ।
स्थानीय समयानुसार राति ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोक्किएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको थियो । विमानमा चालक दलका चार र यात्रु ६० गरी ६४ जना सवार रहेका थिए ।
विमान खसेको ठाउँमा खोजी र उद्धार जारी रहेको छ । अहिलेसम्म कति जना हताहती भए भन्ने यकिन छैन ।
हेलिकप्टरमा तीन सेना रहेको बताइएको छ ।
एफएएले विमान रेगन वाशिङ्टन न्याश्नल एअरपोर्टको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको सीबीएस न्यूजलाई दिएको एउटा वक्तव्यमा जनाएको छ।
दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ब्ल्याक हक भएको र त्यसमा तीन सैनिक सवार रहेको एक अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएको बीबीसीले लेखेको छ ।
यता नाम उल्लेख नगर्ने सर्तमा अर्का एक अधिकारीले समाचार संस्था रोएटर्सलाई दिएको जानकारी अनुसार ती सैनिकहरूको अवस्था अज्ञात रहेको छ । वाशिङ्टन डीसीमा रात्रिकालीन तापक्रम निकै कम भएकाले उद्धारकार्य चुनौतीपूर्ण हुने देखिएको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ भने डुङ्गा र गोताखोरहरूले विमान र हेलिकप्टरमा सवार मानिसहरूको खोजी गरिरहेका छन्।
दुर्घटनाग्रस्त हेलिकप्टर पानीमा उत्तानो परेर खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।