arrow

प्रयागराज महाकुम्भमा भागदौड, हताहतीसमेत भएको आशंका, श्रद्धालुलाई प्रवेश रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १६ बुधबार
prayagraj-25-1-13t.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ क्षेत्रमा भागदौड मच्चिएको छ । जसका कारण कम्तीमा १४ जनाको मृत्यु भएको / ५० भन्दा बढी घाइते भएकोसमेत बताइएको छ । 

यद्यपि अहिलेसम्म स्थानीय प्रशासनले मृतक र घाइतेको बारेमा कुनै जानकारी दिएको छैन । भागदौडपछि प्रशासनको अनुरोधअनुसार सबै १३ अखाडामा आज मौनी अमावश्याको अमृत स्नान रद्द गरिएको अखाडा परिषद्का अध्यक्ष रविन्द्र पुरीले बताएका छन् । 

गएराति २ बजेको समयमा एक्कासी भागदौड मच्चिएको हो । मिडिया रिपोर्टअनुसार स्वरुपरानी अस्पतालमा १४ शव पोष्टमार्टमका लागि लगिएको छ । 

मिडिया रिपोर्टअनुसार अफबाह फैलाउँदै भागदौड मच्चिएको थियो । केही महिलाहरु जमीनमा लडेकामा अरुले उनीहरुलाई कुल्चदै अगाडि बढेका थिए । 

घटनापछि मुख्यमन्त्री योगी आदित्यनाथले महाकुम्भमा आएका भक्तालुसँग विनम्र अनुरोध गर्दै गंगाको जुन घाट नजिक रहेका छन् त्यहीँ स्नान गर्न भनेका छन् । 

प्रशासनको निर्देशन पालना गर्नसमेत उनले विनम्र आग्रह गरेका छन् । उनले ब्यवस्थापनलाई सहयोग गर्नसमेत आग्रह गरेका छन् । 

उनले कुनै पनि अफबाहको पछि नलाग्नसमेत आग्रह गरेका छन् । यसअघि मंगलबार योगी आदित्यनाथले सबै श्रद्धालुलाई मौनी अमावश्यामा शामेल हुन आग्रह गरेका थिए । 

घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगम किनारमा पुगेका थिए । 

आज मौनी अमावश्याको स्नान भएका कारण करिब पाँच करोड श्रद्धालु सहरमा रहेको अनुमान छ । 

प्रशासनका अनुसार संगमसमेत ४४ घाटमा राति अबेरसम्म ८ देखि १० करोडले डुबकी लगाउने अनुमान गरिएको थियो । तर अप्रिय घटना भएसँगै श्रद्धालुलाई अमृत स्नान गर्न रोक लगाइएको हो । 

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोन सम्पर्क गरी जानकारी लिएका थिए । 

अखाडा परिषद् अध्यक्षले अब बसन्त पञ्चमीमा अखाडामा स्थान गर्ने जानकारी दिएका छन् । 

अध्यक्ष पुरीले घटना गम्भीर भएको भन्दै क्षमा माग्दै आजको सट्टामा अब बसन्त पञ्चमीमा स्नान गर्न आउन पनि आग्रह गरेका छन् । 

उनले आज जहाँ पवित्र गंगा देखिन्छ त्यहीँ डुबकी लगाउन पनि आग्रह गरेका छन् । 

प्रयागराजमा नेपालबाटसमेत हजारौँ श्रद्धालु पुगेका छन् । मृतकका बारेमा पूर्ण जानकारी नआएकाले उनीहरु को हुन् भन्ने जानकारी पाउन सकिएको छैन । 

प्रयागराजमा पहिलेदेखि नै घुसपैठको आशंका व्याप्त छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ