अमेरिकामा कानूनत: नयाँ राष्ट्रपतिको लागि गत नोभेम्बर ५ मा भएको निर्वाचनबाट निर्वाचित भएका डोनाल्ड ट्रम्पले यही जनबरी २० मा पद बहाली गरेका छन् । उनी अमेरिकाको ४५ औँ पछि पनि दोस्रो कार्यकालको लागि पुनः ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
डोनाल्ड ट्रम्पले पद बहाली गरेकै दिन करिब एक सय कार्यकारी आदेश जारी गरेका छन् । उनले कतिपय पूर्व राष्ट्रपति बाइडेनका कार्यकारी आदेश खारेज गरेका छन् भने कतिपय उनले चुनावी अभियानमा अगाडि सारेका मेक अमेरिका ग्रेट अभियान र पपुलिज्म नारामा रहेका मुद्दाहरूका विषयमा कार्यकारी आदेश जारी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले जारी गरेका कतिपय आदेश तत्कालै कार्यान्वयनमै आइसकेका छन् भने कतिपय आदेशहरू अमेरिकी कंग्रेसबाट अनुमोदन हुनुपर्ने हुनाले कानूनी बाटोमा छन् । अमेरिकी कंग्रेसमा डोनाल्ड ट्रम्पकै पार्टी रिपब्लिकनको बहुमत भए पनि कार्यकारी आदेशहरू पास हुन त्यति सजिलो भने छैन । कतिपय नियमहरू लागू गर्न संविधानकै धाराहरू नै परिवर्तन गर्नुपर्ने पनि छन् ।
राष्ट्रपति ट्रम्पले पदभार सम्हालेकै दिन एक सार्वजनिक कार्यक्रममै उनले बारम्बार भनिरहेकै अनुसार विश्वलाई प्रभावित पार्ने आदेशमा हस्ताक्षर गरेका छन् । उनले टिकटकमाथिको प्रतिबन्ध अस्थायी रुपमा रोकेका छन् ।
त्यस्तै दक्षिण सीमामा आपतकालीन अवस्थाको घोषणा,जनवरी ६,२०२१ मा अमेरिकी क्यापिटल हिलमा भएको विद्रोहमा आरोपी करिब १५ सयलाई माफी,पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठन अलग्गिने र कागजपत्रविहीन अवैध आप्रवासीबाट जन्मिएका बच्चालाई जन्मसिद्ध नागरिकता दिने नियमको अन्त्य,लिङ्ग परिवर्तन गर्ने कानूनको अन्त्य जस्ता कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
उनको अवैध आप्रवासीलाई देश निकाला गर्ने कार्यकारी आदेशले विश्वलाई नै सशंकित बनाएको छ । ट्रम्पले अमेरिकामा रहेका कागजपत्रविहीनलाई अध्यागमन न्यायाधीश समक्ष पेश नगरिकनै अमेरिकाको कुनै पनि ठाउँबाट पक्राउ गरेर देश निकाला गर्नसक्ने भन्ने आदेशले अवैध आप्रवासीहरू त्रसित भएका छन् ।
अमेरिका भनेको भौगोलिक रुपमा अमेरिकाको मात्रै नभएर विश्वका मानिसहरूको कुनै न कुनै आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने राष्ट्र हो । डोनाल्ड ट्रम्पले अघिल्लो कार्यकालमा पनि अवैध आप्रवासीलाई सामूहिक निर्वासन गर्ने एजेन्डालाई निकै महत्त्व दिएका थिए तर भनेजस्तो सफल भएनन् । साँच्चै नै ट्रम्पले भनेजस्तै तरिकाले अमेरिकाबाट अवैध आप्रवासीलाई निर्वासन गर्न सजिलो देखिँदैन ।
पहिले त्यो अवैध व्यक्ति कुन देशको हो भनेर पहिचान गर्नै गाह्रो छ किनकि सम्बन्धित देशले पनि मेरो नागरिक हो भनेर स्वीकार्नु पर्छ र निर्वासित गर्न नै कानूनी झन्झटिलो र खर्चिलो हुन्छ भनेर धैरै कानूनबेत्ता र विश्लेषकहरूले बताउँदै आएका छन् । ट्रम्पले भनेझैँ कुनै पनि देशमा सम्बन्धित देशका नागरिकहरू र कानूनी मान्यता आप्रवासी व्यक्तिहरू मात्र बस्न पाउनुपर्छ भन्ने विषय सुरक्षा,रोजगार आदि विभिन्न दृष्टिकोणले अत्यन्तै जायजपूर्ण नै देखिन्छ।
विश्वमा बसाइँसराइको शुरुआत मानव सभ्यताको विकास भएसँगै शुरु भएको हो । मानिसहरू विभिन्न कारणले आफ्नो जन्मथलो छोडेर बसाइँसराइ गरिरहेका हुन्छन् । अहिले पछिल्लो समयमा अविकसित वा विकासोन्मुख देशका नागरिकहरू रोजगार,शिक्षा,पारिवारिक पुनर्मिलन,सुरक्षा आदि विभिन्न कारणले देश छोडेर विकसित देशमा विदेशिने क्रम बढ्दो देखिन्छ ।
अमेरिका जस्तो विश्वकै शक्तिशाली र विकसित देशमा पनि नागरिक अस्थायी वा स्थायी बसोबास गर्न खोज्नु अस्वाभाविक होइन। हुनतप्रविधिको दृष्टिकोणले हेर्ने हो भने त अहिले विश्व एउटा गाउँमा सीमित भएको पनि देखिन्छ । आज सेकेन्ड भरमा मान्छे विश्वको एउटा कुनाबाट अर्को कुनामा पुग्न सक्ने सामर्थ्य रहेको छ। सीपयुक्त र दक्ष जनशक्तिलाई रोजगारकै लागि देश नै छोड्नु नै पर्नै बाध्यता भने छैन । तर पनि मान्छेहरू बाध्यता वा आफूखुशी बसाइँसराइ गरिरहेका छन् ।
अमेरिकाकै इतिहासलाई हेर्दा अमेरिका आप्रवासीहरूद्वारा बनाइएको नयाँ मुलुक हो। सन् १४९२ मा कोलम्बसले अमेरिका पत्ता लगाएका थिए । आज संसारकै सबैभन्दा धेरै आप्रवासीहरू बसोबास गर्ने मुलुक अमेरिका नै हो । आज अमेरिका जुन ठाउँमा पुगेको छ त्यसमा आप्रवासीहरूकै महत्त्वपूर्ण योगदान रहेको छ।
एमपीआईको एक तथ्यांक अनुसार सन् २०२३ मा मूल अमेरिकी भनिएका अमेरिकी नागरिकहरूकै पुर्ख्यौली देशहरू पत्ता लगाइएको छ। अमेरिकाको जनसंख्या मध्ये ४१.६ मिलियन जर्मन, ३८.८ मिलियन मेक्सिकन, ३७.९ मिलियन यूके, ३२.७ आयरल्यान्ड,१६.२ मिलियन इटालियन पुर्ख्यौली नागरिक रहेको बताइएको छ ।
त्यस्तै पोल्यान्ड,फ्रान्स,चीन, भारत,फिलिपिन्स,नर्वे, स्वीडेन, नेदरल्यान्ड्स,एल साल्भाडोर,क्युवा, क्यानाडा,जापान,रुस,स्पेन आदि मूल देश भएका नागरिकको संख्या अत्यधिक रहेको छ।
अमेरिकामा वैध आप्रवासीलाई कानूनी विभेद छैन । राज्यले प्रदान गर्ने सबै किसिमका सुविधामा समानता छ। यद्यपि मूल अमेरिकन भनिनेहरूले व्यावहारिक रुपमा आप्रवासीलाई हेर्ने दृष्टिकोणमा भने केही भिन्नता देखिन्छ।
एक तथ्यांकअनुसार जम्मा जनसंख्याको करिब १५ प्रतिशत नागरिक वैधानिक आप्रवासी भनेर चिनिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पकै आधार मान्दा नै यहाँ करिब १ करोड २० लाख अवैध आप्रवासी रहेका छन्। सन् १९६५ मा अमेरिकी कंग्रेसले आप्रवासी कानूनमा केही लचिलो नीति ल्याउनाले आप्रवासीको जनसंख्या पछिल्ला वर्षहरूमा तीव्र गति बढेको बताइन्छ। अमेरिकामा सन् १९७० मा ४.७ प्रतिशत आप्रवासी रहेकोमा अहिले करिब १५ प्रतिशत पुगेको देखिन्छ।
वास्तवमा कुनै पनि देशमा कानून विपरीत अवैध नागरिकलाई बस्ने अधिकार नै हुँदैन । तापनि विश्वका सम्पन्न देशहरूले नै देश वा नागरिकका विभिन्न समस्यालाई आधार बनाउँदै अवैधानिक नागरिकलाई वैधानिक बनाइरहेका छन् । संयुक्त राज्य अमेरिकामा पनि कुनै न कुनै तरिकाले देशभित्र छिर्न सकियो भने केही वर्षमा वैध भइन्छ भन्ने मान्यताले पनि तल्लो वा अवैध बाटोबाट मानिसहरू भित्रिरहेका हुन्छन् ।
अवैध आप्रवासी केही वर्षपछि विभिन्न कानूनी बाटो छेड्दै वैध भएका सयौँ उदाहरण छन् । त्यसैले पनि मानिसहरू कुनै न कुनै दिन वैध नागरिक भइन्छ भन्ने मनशायले लुकिछिपी बसेको देखिन्छ। केही रोजगार दाताले पनि तुलनात्मक रुपमा अवैध नागरिकलाई सस्तोमा लगाउन पाइने हुनाले पनि काम दिइरहेका हुन्छन् ।
विश्वविद्यालयको शिक्षा सकिएपछि रोजगारको लागि पनि विद्यार्थीहरू लुकिछिपी काम गर्छन् भने परिवार भेट्न आएका सदस्य पनि भिसाको म्याद सकिएपछि विभिन्न कारण देखाई बसिरहेका हुन्छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश र अभिव्यक्ति केही कठोर र निर्मम देखिए तापनि अमेरिकाको आप्रवासी नीतिमा केही लचिलो देखिन्छ । सरकार परिवर्तन हुँदा आप्रवासीलाई सहज बनाइएका थुप्रै उदाहरण छन्। सन् २०२२ मै कानूनी अनुमति बिना अमेरिका प्रवेश गरेका करिब ३० लाखले अस्थायी कानूनी सुरक्षा पाएका थिए ।
कानूनवेत्ताका अनुसार अहिले नै पनि असल आचरण भएका र अस्थायी वा स्थायी बसोबासका लागि कागजी प्रक्रियामा अगाडि बढेका आप्रवासीलाई बाहिर आएको हल्ला जस्तो सामूहिक निर्वासन गर्न झन्झटिलो हुने देखिन्छ। तर पनि राज्यले चाह्यो भने असम्भव भने छैन ।
राष्ट्रपति ट्रम्पका अहिले नै आएका आदेश र उनका निर्वाचन अभियानमा अभिव्यक्त गरेका विचारहरू कार्यान्वयन गरिँदा अमेरिका र विश्व राजनीतिमा ठूलै हलचल आउने अवस्था देखिन्छ । राष्ट्रपति ट्रम्पले पदभार सम्बोधनकै क्रममा आजदेखि अमेरिकामा स्वर्णयुगको शुरुआत भयो भनेर घोषणा गरेका छन् ।
उनको स्वर्णयुग कस्तो हुनेछ,समयले पक्कै देखाउने छ। उनले विशाल र नयाँ अमेरिका बनाउने भनेका छन्। अमेरिका अमेरिकैको लागि हुनुपर्छ भन्ने उनको मूल मन्त्र रहेको देखिन्छ । अमेरिकाको आम्दानी अमेरिकी नागरिकलाई खर्च गर्नुपर्छ भन्ने उनको आशय देखिन्छ।
उनको यो योजनाले कार्यान्वयनको बाटो अवलम्बन गर्न थाल्यो भने विश्वका धेरै मुलुकलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। ट्रम्पको यो उद्घोषलाई विश्वका सबै देशले निकै गम्भीरतापूर्वक सोच्नु र मनन् गर्नुपर्ने देखिन्छ । अमेरिकामा त्रसित अवस्थामा रहेका वा बनाइएका अवैध आप्रवासी पहिचानसहित फर्काइन्छ्न् भने उनीहरूका लागि सम्बन्धित देशले अभिभावकत्त्व ग्रहण गर्नुपर्छ ।
सबै देशहरूले अमेरिकासँग हाम्रा नागरिक छन् भने हामी सहजै स्वीकार्छौं भनेर भन्न सक्नुपर्छ । भारत सरकारले त आफ्ना करिब १८ हजार नागरिकलाई कसरी आश्रय वा सहारा दिन सकिन्छ भनेर छलफल र विमर्शसमेत थालेको बताइएको छ । नेपाल सरकारले पनि जतिसक्दो छिटो मुख खोलोस् र आफ्ना नागरिकको अभिभावकत्व ग्रहण गरोस् । विश्वमा कुनै पनि नागरिक अनागरिक हुन नपरोस् ।