पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन फागुनमा, राष्ट्रपतिले उद्घाटन गर्ने
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
689
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन आगामी फागुन ३ गतेदेखि काठमाडौँमा हुने भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने आयोजक नेपाल बार एसोसिएसनले जनाएको छ ।
सम्मेलनमा ल एसियाका सदस्यहरुसमेत गरी ३६ भन्दा बढी देशका तीन सय भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने एसोसिएसनले जनाएको छ ।
यस वर्षको सम्मेलनको विषयवस्तु "मानव अधिकारको सहनशीलता: प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरुको सामना" रहेको छ ।
सम्मेलनमा एक पूर्ण सत्र र मानवअधिकार, वातावरणीय न्याय र आदिवासी जनजाति र समुदायका अधिकारहरुसमेत गरी जम्मा तीन ट्रयाकहरुमा विषयगत सत्रहरु हुने एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार पत्रकार सम्मेलनमासमेत घिमिरेले सम्मेलनले एसिया क्षेत्रका कानून व्यवसायीहरुबीच संवाद, सहकार्य गर्ने र त्यसका लागि सञ्जाल निर्माण गरी नेपालको मानव अधिकार संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
‘ल एसिया’ एसिया प्रशान्त क्षेत्रका ३६ भन्दा बढी देशको कानून व्यवसायी, न्यायाधीश, विज्ञ र कानुन व्यवसायीको पेसागत संस्थाहरूको एक प्रमुख क्षेत्रीय सङ्घ हो । यसले एसिया प्रशान्त क्षेत्रभरको कानुनी पेसाको सरोकारका पक्षमा वकालत गर्दछ ।
यो संस्थाले ५० वर्षभन्दा बढी समयदेखि कानूनी ज्ञानको अन्तरदेशीय आदान–प्रदान प्रवर्द्धन र कानुनी पेसाको हकहितका लागि आवाज मुखरित गर्दै आएको छ ।
सम्मेलनमा खासगरी मानव अधिकार, वातावरणीय न्याय, र आदिवासी जनजाति तथा समुदायका अधिकारहरूसमेत गरी १४ वटा विषयगत सत्र सञ्चालन हुने सम्मेलनका सदस्यसचिव अधिवक्ता बाबुराम अर्यालले जानकारी दिए ।