काठमाडौँ। न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ शुरु भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रारम्भ गरेको हो । समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान समेत गरेको छ । खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिनेछ । उजुरी कर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ ।
समितिको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा नियुक्तिका लागि प्रस्तावित दामोदर खड्काको नाम प्रस्ताव गरी संसदीय सुनुवाइ हुन न्याय परिषद्बाट समिति समक्ष पुस २९ गते आएको बताइन् । संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने र निजको सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चार माध्यमार्फत सार्वजनिक गर्न प्रस्ताव गरिन् ।
प्रस्तावलाई समितिले सर्वसम्मत पारित गरेको छ । समिति सभापति न्यौपानेले सुनुवाइको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनको लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय सञ्चारका माध्यमबाट संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफाअनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिइन् ।
उनले भनिन्, ‘न्याय परिषद्को सदस्य पदमा नियुक्तिका लागि प्रस्तावित नाम दामोदर खड्काको नाम प्रस्ताव गरी संसदीय सुनुवाइ हुन न्याय परिषद्बाट यो समिति समक्ष मिति २०८१-९-२९ गते पत्र प्राप्त भएको छ । प्रस्तावित पदमा सिफारिस गरिएका व्यक्तिको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गर्ने सन्दर्भमा आफ्ना भनाइहरू राख्न मान्य सदस्यहरूलाई समय उपलब्ध गराउँछु । संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने र निजको सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चार माध्यमार्फत सार्वजनिक गर्न प्रस्ताव गर्दछु । सुनुवाइको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनको लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय सञ्चारका माध्यमबाट संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफाअनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’