arrow

[अपडेट] प्रयागराज महाकुम्भः पहिलो दिन एक करोड ६५ लाख भक्तजनले गरे अमृत स्नान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
kumbhamela-prayagraj-25.jpg

काठमाडौँ । बहुप्रतिक्षित सन् २०२५ महाकुम्भ शुरु भएसँगै दुई नदीहरूको सङ्गम गङ्गा र यमुनामा पवित्र स्नान गर्न भक्तहरू भेला भएका छन् । प्रयागराजमा पहिलो दिन एक करोड ६५ लाख श्रद्धालुले नदीमा स्नान गरेका छन् । पहिलो दिनको स्नानलाई अमृत स्नान भनिएको छ ।

भारतसँगै नेपाल, जर्मनी, ब्राजिल, रुस लगायतका देशकासमेत गरी २० देशका तीर्थयात्रीले गङ्गामा डुबकी लगाएको आयोजकले जनाएको छ । 

यसपालि विश्वभरमै अहिलेसम्मकै ठूलो डेढ महिने यो महाकुम्भमा ४० करोड श्रद्धालु प्रयागराज पुग्ने अनुमान गरिएको छ ।

उत्तर प्रदेशका प्रहरी महानिर्देशक (डीजीपी) प्रशान्त कुमारले सोमबार दिउँसै करिब एक करोड मानिसहरूले पवित्र सङ्गममा स्नान गरेको बताएका थिए । उनले भने, “अहिलेसम्म करिब एक करोड भक्तहरूले सङ्गम क्षेत्रमा पहिलो दिनमा ‘अमृत स्नान’ गरेका छन् ।”

सङ्गममा भक्तजनको चहलपहल जारी रहेकाले प्रहरी तैनाथ रहेको र प्रहरी प्रशासनले ड्रोनबाट अनुगमन गरिरहेको उनले बताए । डीजीपीले कुनै पनि दुर्घटनाको बारेमा कुनै जानकारी रिपोर्ट हालसम्म गरिएको छैन ।

“सङ्गममा भक्तजनको घुइँचो जारी छ, त्यहाँ प्रहरीको उपस्थिति छ, ड्रोनको निगरानी पनि भइरहेको छ साथै सुरक्षाका लागि अन्डरवाटर ड्रोनको पनि प्रयोग गरिएको छ । अहिलेसम्म प्रयागराज क्षेत्रमा कुनै अप्रिय घटना घटेको छैन । राज्यका सबै वरिष्ठ अधिकारी र सीएमओ कार्यालयले स्थितिलाई निगरानी गरिरहेका छन्,” डीजीपी कुमारले बताए ।

“सडकबाट आउने भक्तजनका लागि यातायात विभागले गरेको सबै व्यवस्था पनि सुचारु रूपमा चलिरहेको छ । प्रयागराज जाने सबै सडकमा सवारी आवागमनमा कुनै अवरोध छैन । आजको व्यवस्थामा देखिएका कमजोरीलाई भोलिका लागि सुधार गरी काम गरिने छ,” उनले थपे ।

विश्वको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम महाकुम्भ सन् २०२५ औपचारिक रूपमा प्रयागराजमा सोमबार शुरु भएको हो । 

गङ्गा, यमुना र सरस्वती नदीको पवित्र सङ्गमस्थल त्रिवेणी सङ्गममा हजारौं भक्तजन यसअघि नै स्नानमा सहभागी भइसकेका छन् । सरकारले उक्त कार्यक्रमको तयारीलाई व्यवस्थित बनाएको छ । मेला क्षेत्रमा १५ हजार सरसफाइ कार्यकर्ता, २५ सय गङ्गा सेवा दूत (स्वयंसेवक) मुख्य व्यवस्थाहरू रहेका छन् ।

राज्य सरकारले ६९ हजार एलईडी बत्ती स्थापना गरेको छ, जसमा सौर्य हाइब्रिड सडक प्रकाश, दुई हजार ७५० भीड–निगरानी क्यामेरा र २४-७ एकीकृत कमाण्ड र नियन्त्रण केन्द्र निगरानी समावेश छ । 

पौष पूर्णिमाको शुभ अवसरमा सोमबारदेखि शुरु भएको ४५ दिने महाकुम्भमा भक्तजनको सहयोगका लागि उत्तर प्रदेश प्रहरीले फ्लोटिङ्ग प्रहरी चौकी स्थापना गरेको छ । कार्यक्रमको सुरक्षाका लागि स्थानीय प्रहरी र अर्धसैनिक बलसहित १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) ले भक्तहरूको सुरक्षा सुनिश्चित गर्न सङ्गममा एम्बुलेन्स तैनाथ गरेको छ । सम्पूर्ण कार्यक्रममा चिकित्सक र एनडीआरएफ अफिसरहरू सहितको मेडिकल सुविधासहितको एम्बुलेन्सहरू २४-७ सञ्चालन हुनेछन् ।

दोस्रो दिन मंगलबारको स्नानलाई पहिलो राजसी स्नान भनिएको छ । मंगलबार मकर संक्रान्तिसमेत हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ