arrow

सूर्यदर्शन सहकारी प्रकरण 

यस्तो छ कास्की जिल्ला अदालतको आदेश (पूर्ण पाठसहित)

सात जनासँग दुई करोड १६ लाख धरौटी माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २५ बिहिबार
kaski-court-pokhara.jpg

काठमाडौँ । पोखराको सूर्य दर्शन सहकारीको रकम अपचलन, सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध मुद्दामा जिल्ला अदालत कास्कीले सातै जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार साँझ अदालतका न्यायाधीश नीतिज राईको इजलासले यस्तो आदेश दिएको छ ।

जसमा सबैभन्दा धेरै पूर्वडीआइजी छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । उनी गत असोज २ गते काठमाडौँबाट पक्राउ परेका थिए । उनलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएकामा अदालतले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो ।

यसैगरी अदालतले पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । यस्तै अदालतले सोही मुद्दामा लीला पछाईलाई ३७ र व्यवसायी रामबहादुर खनाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।

यस्तै, सोही सहकारी प्रकरणमा सहकारीका कोषाध्यक्ष आरती गुरुङ र पूर्व उपाध्यक्ष मीना गुरुङलाई जनही पाँच लाख तथा कृष्णबहादुर गुरुङलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । अदालतले सात जनाबाट दुई करोड १६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दाबीसहित ५ पुसमा थप र ७ पुसमा पूरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश राईले बिहीबार जारी गरेको आदेशमा प्रतिवादी लामिछानेको एकल हस्ताक्षरबाट गोर्खा मिडिया कम्पनीको ८१४ वटा चेकहरूको कारोबार भएको, उनी गोर्खा मिडिया कम्पनीको आधिकारिक व्यक्ति भएको, गोर्खा मिडियामा जानुअघि र कम्पनीबाट अलग भएपश्चात् पनि केही चेकहरूमा हस्ताक्षर गरेको देखिएको, प्रबन्ध निर्देशक जस्तो जिम्मेवार पदमा रही चेकमा हस्ताक्षर गर्ने गरेको लगायतका आधार लिएको छ ।

यस्तो छ कास्की जिल्ला अदालतको आदेश
प्रतिवादी रवि लामिछानेको हकमा विचार गर्दा, निज प्रतिवादीलाई माथि प्रकरणमा उल्लिखित सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अभियोग लागेको देखिएकोमा यस इजलास समक्ष बयान गर्दा गोर्खा मिडिया प्रा. लि. मा प्रबन्ध निर्देशक भए पनि सो संस्थामा कहाँबाट कसरी रकम आएको थियो भन्ने विषयमा फरार प्रतिवादी तथा उक्त कम्पनीका अर्का संस्थापक शेयर धनी गितेन्द्रबाबु राईलाई नै थाहा भएको, उक्त कम्पनीसँग गरेको सम्झौता अनुसार वित्तीय कारोबारको बारे जानकारी `लिने दायित्व नरहेको, चेकमा हस्ताक्षर गर्ने मात्र गरेको, सूर्य दर्शन सहकारीबाट कुनै कर्जा नलिएको भनी बयान गरेको देखिएकोमा निज प्रतिवादीको एकल हस्ताक्षरबाट गोर्खा मिडिया कम्पनीको ८१४ वटा चेकहरूको कारोबार भएको देखिएको, निज प्रतिवादी गोर्खा मिडिया कम्पनीको आधिकारिक व्यक्ति हुनु भन्दा अघि र सो कम्पनीबाट अलग भएपश्चात् पनि केही चेकहरूमा हस्ताक्षर गरेको देखिएको र प्रबन्ध निर्देशक जस्तो जिम्मेवार पदमा रही चेकमा हस्ताक्षर गर्ने हैसियत समेत राखेको व्यक्ति रहेको देखिएको, सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको नाममा सञ्चालनमा रहेको साबिक मेगा बैङ्कको खाता नं ०१२०००१००१५१३२ मा भएको कारोबार विवरण अनुसार सन् २०२१ ०१ १८ मा चेक नं २०२४८९५३१७ बाट गितेन्द्र बाबु राईको Standard Chartered Bank १८२९०३१७२०१ मा रू.२,००,००,०००।- ( दुई करोड ) जम्मा भएकोमा सोही रकम मध्ये सन् खाता नं २०२१-०१-२१ मा चेक नं ००११९२८१६८ बाट रवि लामिछानेको नाममा आईएमईको खाता नं ३०-७०१०००५१-१३ मा रु.७५,००,०००।- (पचहत्तर लाख ) को रहेको ग्लोबल चेकमार्फत जम्मा भई प्रतिवादी रवि लामिछानेले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.को नाममा सञ्चालनमा रहेको ग्लोबल आईएमई बैङ्कको खाता नं ००४०१०१००००५७७ मा सन् २०२१-०१- २२ जम्मा गरेको देखिदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्य समेत भएको देखिएको तथा अन्य प्रतिवादीहरूसँग देखिएको अन्तरसम्बन्ध र बैङ्क खाताको ट्रान्जेक्सन समेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरूबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिए पनि तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरूबाट कसुरदार प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी रु. ६५,००,०००।- (पैसठ्ठी लाख रुपैंया नगदै वा सो बराबरको जेथा वा बैङ्क जमानत दिए लिई तारेखमा राख्नु र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनु । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ