arrow

जीविकोपार्जनका रूपमा मिथिला चित्रकला

logo
विजेता कर्ण चौधरी,
प्रकाशित २०८१ पुष २५ बिहिबार
aruna-uprety-lekh1.jpg

काठमाडौं । पछिल्लो सयम मिथिला चित्रकलालाई युवा कलाकारहरूले आफ्नो ‘करियर’ अर्थात जीविकोपार्जनका रूपमा अङ्गाल्न थालेका छन् । यसमा महिलाहरूको सङ्ख्या झनै आशालाग्दो छ । मिथिला चित्रकलाको ख्याति अन्तर्राष्ट्रियस्तरसम्म फैलिएसँगै चित्रकारहरूले पनि यतिबेला देशभित्र मात्रै सीमित नरहेर अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो पहिचान स्थापित गर्दै लगेका छन् । मिथिला चित्रकलाको प्रदर्शनी, ग्यालरी सञ्चालन, क्राफ्ट निर्माणलगायत विभिन्न निजीदेखि व्यापारिक भवनसम्ममा चित्रकला गरेर चित्रकारहरूले राम्रो आम्दानी गर्नुका साथै मान-सम्मान र प्रतिष्ठा पनि आर्जन गरिरहेका छन् । 

चित्रकलालाई आफ्नो ‘करियर’ बनाएर मिथिला-मधेसकी हजारौं महिलाकी नमूना बनेकी युवा चित्रकार सुनयना ठाकुरको नाम अग्रपङ्क्तिमा आउँछ । जनकपुरधाममा मिथिला पेन्टिङसम्बन्धी आफ्नो आर्टग्यालरी सञ्चालन गरेर एक दशकअघि नै सुनयनाले आफ्नो भविष्यको बाटो कोरेकी थिइन् । सानो छँदा चित्र कोर्न मन पराउने सुनयनालाई आफूले कोरेको चित्र मिथिला चित्रकला हो भनेर थाहा थिएन । उनले घरमा र टोलछिमेकमा आमा-काकीहरूले विभिन्न विधि-व्यवहारमा कोर्नुभएको चित्रलाई नै आफ्नो क्षमताले कोरिन् । तर त्यही प्रतिभाले आज देश-विदेशमा एक परिचित अनुहार मात्र नभएर आर्थिक रूपमा पनि सक्षम र आत्मनिर्भर बन्न सफल भएको छ । कक्षा ८ पढ्दै गर्दा विवाह भएकी सुनयनाले सफलताको शिखर आफ्नै आँट र सुझबुझले चढिन् । 

त्यस्तै मिथिला चित्रकलालाई आफ्नो करियर बनाएर सफलताको उडान भर्ने अर्की कलाकार हुन् रन्जु यादव । रन्जुले पनि भर्खरै ललितपुरमा आफ्नो ग्यालरी सञ्चालनमा ल्याएकी छन् । राजविराज, थलहा गाविस, सुरुङ्गा नगरपालिका-१० की रन्जु पनि मिथिला चित्रकलामा एक स्थापित नाम हो । यसैगरी भक्तपुरको राधेराधेमा लक्ष्मण मण्डल र सरिता मण्डल यसै क्षेत्रमा लागेका छन् । श्रीमान-श्रीमतीसमेत रहनु भएका उनहरूले आफ्नो कलालाई जीविकोपार्जनसँग जोडिएका छन् । यसबाहेक, मिथिला चित्रकलामा यतिबेला पूजा साह, दीपा कर्ण, सुलेखा साह, मुन्नी खातुन, संगीता मण्डल, सुनिता साह, मनतोरियादेवी, विनिता भारतीलगायतका प्रतिभाहरुले यस क्षेत्रमा आफ्नो करियर बनाउँदै छन् । 

घरबाट बाहिर गएर मिथिला चित्रकलालाई पूर्णकालिक अङ्गाल्नेको सङ्ख्या थोरै रहे पनि यो क्रम बढ्दो रहेको चर्चित एवम् वरिष्ठ चित्रकार एस.सी. सुमन बताउँछन् । उनी भन्छन्, “मिथिला चित्रकला आफ्नो फरक ढङ्गको चित्रकारी र शैलीकै कारण विश्वविख्यात हुँदै गएको छ । त्यति मात्र नभएर पारम्परिक चित्रकलालाई यतिबेलाका युवाहरूले समसामयिकतासँग जोड्दै लगेको हुनाले पनि मिथिला चित्रकलाको माग र आकर्षण बढ्दो छ ।” 

मिथिला चित्रकलालाई संस्थागत गराउन मधेस प्रदेशस्थित राजर्षि जनक विश्वविद्यालयमा स्नातकमा फाइनआर्ट अध्ययन-अध्यापनका लागि पहल भइरहेको वरिष्ठ चित्रकार सुमन बताउँछन् । यससम्बन्धी पाठ्यक्रमलाई जीवनयापनसँग जोडिनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, “हाम्रो पुस्ताले सोखको रूपमा चित्रकारी सुरु गरेका थियो तर अबको पुस्ता फाइन आर्टमा मिथिला पेन्टिङ्ग पढेर करियर बनाउँछन् । भविष्यमा मिथिला चित्रकला जीवनयापनका लागि स्थायित्व प्रदान गर्ने राम्रो र सबल माध्यम बन्न सक्छ ।”

ग्यालरी सञ्चालन गरी आत्मनिर्भर बन्ने प्रथम महिला
युवा चित्रकार सुनयना ठाकुर, देश र मधेसभरिमै ग्यालरी सञ्चालन गरेर मिथिला चित्रकलामा आत्मनिर्भर बन्ने प्रथम महिला पनि हुन् । ‘सुनयना आर्ट’ २०६८ सालमा खुल्यो, जो मिथिला ग्यालरीको नामले पनि परिचित छ । उनी भन्छिन्, “जानकी मन्दिरको प्राङ्गनमा ग्यालरी सञ्चालन गर्दा धेरैले ग्यालरी भनेको के हो नै बुझेका थिएनन् । ग्यालरी सञ्चालन गर्न मैले धेरै अप्ठयाराहरू भोगेँ । शुरुमा कन्सेप्ट बुझाउनै गाहे थियो तर चित्रकलामा नै समर्पित हुन्छु भनेर धार्मिक नगरी जनकपुर घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै जानकी मन्दिरसँगैको प्राङ्गणमा ग्यालरी सञ्चालन गरेँ । ग्यालरी एउटा कलाकारको सपना हुन्छ । मैले देश-विदेश घुम्दा ग्यालरीको महत्व बुझेँको थिएँ । र आज यसैले मेरो जीविका पनि चलाइदिएको छ ।” उनले कागजदेखि माटोको भाडोमा चित्र कोर्दाकोर्दै क्यानभासको यात्रा तय गरिन् । 

चित्रकार सुनयनाले जलेश्वर, जनकपुर हुँदै पोखरा, काठमाडौंैमा दर्जनौ एकल प्रदर्शनी गरिसकेकी छन् । भने विदेशमा मात्र पाँच वटा प्रदर्शनी लगाइसकेकी छन् । उनले सन् २०१६ मा अमेरिका, जापानलगायत नेपालका विभिन्न स्थान र विदेशमा पनि उनले एकल र सामूहिक प्रर्दशनी गर्दै आएकी छन् । महोत्तरीको सुगा गाउँकी सुनयनाले जनकपुरदेखि काठमाडौँको ठमेलसम्म आफ्नो आर्ट ग्यालरीको विस्तार गरेको पनि लामो समय भयो । उनले आफूजस्तै थुप्रै चित्रकारलाई रोजगार पनि दिएकी छन् । उनले आफ्नो एउटा पेन्टिङ अमेरिकामा १७ डलरमा बेचेकी थिइन् भने नेपालमा पनि एक लाखदेखि माथिका पेन्टिङहरू बिक्री भएका छन् । 

विद्रोही चित्रकार रन्जुको उडान
युवा चित्रकार रन्जुले सुरुदेखि नै सामाजिक विषयलाई आफ्नो चित्रकलामा उतारिन् । एउटा विद्रोह थियो उनभित्र । उनी भन्छिन्, “कलाको सीमा हुँदैन । मिथिला चित्रकलाको जुन जग छ, त्यसमाथि नै टेकेर मैले विषयवस्तु परिवर्तन गरेर चित्रकला गर्छु । पारम्परिक र विषयगत चित्रकला नै मेरो निजत्व हो । चित्रकलाको माध्यमबाट पनि समाजको प्रतिविम्ब देखाउन सकिन्छ भन्ने मेरो मान्यता हो ।”

रन्जु सुनाउिन्, “घरमा छोरा-छोरीमा भेदभाव थियो । घर बाहिर र भित्र पनि अनेक हस्तक्षेपहरू थिए, जसले मनमा विद्रोह उत्पन्न हुन्थ्यो । जब मिथिला चित्रकलालाई अङ्गालेँ अनि मैले समाज, देश र परिवेशमा सदियौंदेखि विद्यमान कुरीतिहरूको विरोधमा चित्र कोर्न थालेँ । मैले चित्रकलालाई जनचेतनासँग जोड्ने सोच बनाएँ । चित्र कोर्दा स्वतः दाइजोविरोधी, छुवाछूत विरोधी चित्रहरू कोर्नथालेँ । पारम्परिक त बनाउँथे नै तर त्यो भन्दा पनि सन्देसमूलक चित्र कोर्नतिर स्वतः अग्रसर हुँदै गएँ ।” उनले चित्रकलामार्फत पारम्परिकबाट हटेर समाजको प्रतिविम्ब कोर्नुले पनि थुपै्र चित्रकारको विरासत हल्लाएको थियो । धेरैले उनलाई निरुत्साहित गर्न खोज्थे, कतिपयले के यस्तो पनि मिथिला पेन्टिङ हुन्छ र भन्ने गरेको स्मरण गर्दै उन भन्छन्, “कलाको कुनै सीमा हुँदैन, यो अभिव्यक्तिको माध्यम पनि हो । आधार मात्र बलियो हुनुपर्छ ।”

मैथिली भाषामा स्नातकोत्तर रन्जुको पहिलो चित्रकला प्रर्दशनी २०७४ मा भएको थियो । नेपाल राष्ट्रिय ललितकला प्रदर्शनीमा दाइजोविरुद्धको चित्रकला प्रदर्शन गरेकी थिइन् । त्यस प्रदर्शनीमा रन्जुलाई अवलोकनकर्ताहरूबाट राम्रो प्रतिक्रिया आएको थियो । त्यही उत्साहमा सन् २०१९ को अप्रिलमा उनको पहिलो एकल कला प्रदर्शनीमा २९ वटा विभिन्न विषयवस्तुसहितका चित्र रहेका थिए । यसमा दाइजो, छुवाछूत, भ्रूणहत्याजस्ता सामाजिक विकृतिविरुद्ध उनले चित्रकलाको माध्यमबाट आवाज बाहिर ल्याउने प्रयास गरिन् । त्यति मात्रै नभएर महिला सशक्तीकरणका विषयवस्तुसहित ‘कलर्स अफ चेन्ज’ थिमका साथ उपस्थिति जनाइन् । प्रकृतिमाथिको एउटा चित्रकलाको रु एक लाख १० हजार पाउँदा रन्जुको उत्साह झनै बढ्यो । काठमाडौंमै उनले त्यो चित्र बेचिन् । उनले अवस्था हेरेर विधि-व्यवहारसम्बन्धी चित्रकला १० हजारमा समेत उपलब्ध गराउँदै आएकी छन् । 

मिथिला चित्रकलाको शुरुआत
रामायणकालमा मिथिला चित्रकलाको हुरुवात भएको मान्यता रहेको छ । राजा जनकले छोरी जानकीको बिहेमा घर, आँगन र भित्ताहरूमा चित्रकोर्न लगाएका थिए, जो मिथिला चित्रकलाको रूपमा रहेको छ । चित्रकार रन्जु भन्छिन्, “ग्रामीण भेगका महिलाहरूले आफ्नो घर र भित्ता सजाउन जुन चित्र कोर्नुहुन्छ, त्यो नै मिथिला चित्रकला हो । यसलाई लोककला पनि भनिन्छ । पहिले भूइँमा र भित्तामा चित्र कोर्ने गरिन्थ्यो, पछि क्यानभाससम्म आइपुगेको हो ।”

वरिष्ठ चित्रकार सुमनका अनुसार मिथिला पेन्टिङ कुनै समयमा करियरका लागि नभएर विधि व्यवहारसम्म मात्रै सिमित थियो । भारतीय मिथिला क्षेत्रमा सन् १९६० को दशकमा भित्ताबाट कागजमा सो चित्रकला उतारिएको मान्यता छ । नेपाली मिथिला क्षेत्रमा भने सन् १९९० तिर यसले थोरै व्यावसायिक आकार ग्रहण ग¥यो । २०५१ सालमा जनकपुरमा नारी विकास केन्द्रको स्थापना विदेशी महिला क्लेयर बर्केटले गर्नुभएको थियो । मिथिला चित्रकलालाई व्यावसायिक रूपमा अघि बढाउने उद्देश्यले सो संस्थाको स्थापनापश्चात् नै मिथिला चित्रकलालाई व्यावसायिकरूपमा लिन थालिएको हो । 

मिथिलाकी महिलाहरू सानैदेखि आफ्नो घर-आङ्ग र भित्ताहरूमा चित्र कोरेको देख्दै हुर्केका हुन्छन् । मिथिलाञ्चलमा मनाइने प्रायः प्रत्येक पर्व र विवाह आदिमा विधि-व्यवहारसम्बन्धी चित्र कोर्ने विशेष परम्परा रहेको छ । त्यस्तै धार्मिक अनुष्ठानका अरिपणलगायत विभिन्न चित्र अनिवार्य प्रायः भएकाले मिथिलाका चेलीहरूले चित्रकलाको ज्ञान एकप्रकारले विरासतमै पाएका हुन्छन् । यसबाट आर्थिक आम्दानी पनि राम्रो हुन थालेपछि युवा पुस्तामा मिथिला चित्रकलालाई आफ्नो करियरको रूपमा अगाडि बढाउने क्रम बढेको छ । 

अग्रजहरूका पदचाप पछ्याउँदै
झण्डै दुई दशकअघि वरिष्ठ चित्रकार मिथिलादेवी यादवले चित्रकलालाई आफ्नो जीविकोपार्जनको आधार बनाएकी थिइन् । उनी भन्छिन्, “त्यतिबेला मिथिला पेन्टिङलाई व्यावसायिक रूपमा खासै हेर्ने गरिएको थिएन ।” सानो उमेरमा बिहे गरेर साधारण परिवारमा गएकी मिथिलादेवीले अशिक्षाको अध्यारो आकाशलाई चित्रकलाको प्रकाशले दीप्त बनाइन् । रङ र कुचीले आफ्नो सुनौलो भविष्य कोरिन् । परिवार पाल्नुपर्ने जिम्मेवारी अनायास आइलागेपछि उनले चित्रकलालाई नै जीविकाको माध्यम बनाउने आँट गरन् र सफल भइन् पनि । उनले व्यावसायिक रूपमा मिथिला चित्रकलाको शुरुआत गर्दा थुप्रै महिलालाई यसमा जोडिन् । उनी नेपाल ललितकलाको प्राज्ञ परिषद सदस्यसमेत भइसकेकी छन् । 

त्यस्तै मिथिला चित्रकलालाई दशकौंअघि आफ्नो रोजगारको माध्यम बनाएका अर्को ख्यातिप्राप्त वरिष्ठ चित्रकार हुन् विजयदत्त मणि । उनले जनकपुरमा बसेर मिथिला चित्रकलाको साधनामा जीवनयापन गरे र आज पनि उत्तिकै सक्रिय हुन् । अर्का चर्चित वरिष्ठ चित्रकार अजित साह पनि चित्रकलामै स्थापित भएका छन् । 

महिला सशक्तीकरण, हिंसा र यातनाबारे अभिव्यक्त हुँदै कलाकार
युवा चित्रकार सुनयनाका अनुसार मिथिला चित्रकलालाई व्यावसायिक रूपमा अँगाल्ने महिलाहरूको सङ्ख्या बढ्दो छ । पहिले पारम्परिक विधि-व्यवहारका पेन्टिङ बनाउने महिलाहरूले यतिबेला महिला सशक्तीकरण, महिला हिंसा र यातनाबारे पेन्टिङमा बोल्न थालेका छन् । कला अभिव्यक्तिको माध्यम हो, हामी जुन समय र समाजमा बाँचेका हुन्छौं त्यसको सकारात्मक र नाकारात्मक दुवै पक्ष हाम्रो चित्रकलामा पनि अभिव्यक्त भएर आउँछ नै । हामी युवा छौं र हामीले भोगेको, देखेको र चाहेको परिवर्तनलाई नै आकार दिने हो । कुनैबेला स्वतःस्फूर्त रूपमा नै पारम्परिक चित्रकला आफैँ कोरिदैजान्छ क्यानभासमा भने संस्कृति र वातावरण पनि हाम्रो चित्रकलामा आउँछ । अहिलेका युवाहरूको चित्रकलामा प्रायः जनचेतना, परिवर्तन र विद्रोहको झल्को पाइन्छ । तर पारम्परिक चित्रकलाको आफ्नो मौलिक आकर्षण छदैँछ । यसले आयआर्जन पनि दिएको छ ।

अर्की युवा चित्रकार रन्जु सुनाउँछिन्, “मैले शुरुआत गर्दा यो क्षेत्रमा व्यावसायिकरूपमा लोगकी महिलाको सङ्ख्या न्यून थियो तर यतिबेला ह्वात्तै बढेको छ । समर्पणका साथ लाग्ने हो भने मिथिला चित्रकलाले नाम, दाम र आत्मसम्मान सबै दिन्छ । साथै अन्य कलाकारहरूले पनि आफ्नो फाइन आर्टमा मिथिलाको स्वाद दिने प्रचलन बढेको छ । उन भन्छन्, “मिथिला चित्रकला विश्वप्रसिद्ध भइसक्यो । फाइन आर्टका अन्य चित्रकलाहरू कुनै न कुनै कलासँग मेला खाइरहेको आभास पाउछौँ तर मिथिला चित्रकला अन्य कुनै कलासँग मिल्दैन । यो छुटै प्रकृतिको चित्रकला हो । अन्य समुदायबाट आएर मथिला चित्रकला गरिरहेका कलाकारहरूले भने विशुद्ध व्यावसायिक रूपमा गरिरहेका छन् ।” 

मधेसको सकारात्मक विम्ब पनि
युवा कलाकार रन्जु सम्झन्छिन्, “मेरो एकल प्रदर्शनी अवलोकन गर्न बबरमहलस्थित आर्ट ग्यालरीमा आउनुभएको पूर्वमन्त्री मात्रिकाप्रसाद यादवले समाजिक विषयवस्तुमाथि यत्रो चित्र कोर्नुभयो तर विदेश जाने युवाहरूलाई समेट्नुभएन भन्नुभएको थियो । मधेसमा विदेश जानेको लर्को लाग्ने गर्छ, पुरुष त कमाउन विदेश उड्छन् तर उनको श्रीमती बालबच्चासहित दूरदराजमा कसरी बस्छिन् ? बच्चा बिरामी पर्दा कसरी अस्पताल पु¥याउँछिन् ? त्यही विषयमाथि मैले चित्र कोरेको थिएँ । मैले महिलाले साइकलमा बसाएर बच्चालाई स्कुल पु¥याएको र एक्लै खेतबारीमा काम गर्दैगरको चित्र मैले उनलाई देखाउँदा उनले ताली बजाउनुभयो ।'

रन्जु भन्छिन्, ‘डिजास्टर टुरिज्म’ थिमको चित्रकलालाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्नुभएको थियो । खासमा मैले चित्रमा, बाढीले जलमग्न मधेसको अनुगमनमा नेता र मन्त्रीहरू हेलिकप्टरमा आउने र माथिमाथिबाटै उडेर फर्किने गरेको दृश्य कोरेको थिएँ । यो दृश्य हामीले प्रत्येक वर्ष बोहोर्ने गरेका छौं । मानौँ, मधेस ‘डिजास्टर टुरिज्म‘को एउटा केन्द्र नै हो । पूर्व प्रधानमन्त्री माधव नेपालले पनि फोन गरेर मलाई बधाई दिनुभएको थियो । रन्जुको विदेशमै तीन वटा एकल प्रर्दशनी भइसकेका छन् भने थुप्रै समूहिक प्रर्दशनी पनि गरिसक्नुभएको छ ।'

बजारको खोजी
वरिष्ठ चित्रकार एस.सी. सुमन भन्छन्, “बजारको विस्तार भइरहेको छ, यतिबेला मान्छेमा कलाप्रति सचेतना बढेको छ । अहिले मधेस अथवा मैथिलहरू मात्रै नभएर सबैले मिथिला चित्रकलालाई आफ्नो घरको भित्ता, पर्खाल, आँगन, होटल, अफिस, सरकारी कार्यालयदेखि सार्वजनिक धरोहरहरूमा समेत सजाउन चाहन्छन् । घरमा पुस्तक हुुनुजत्तिकै अहम् भूमिका चित्रकलाको पनि भइसक्यो । यसले हाम्रो कलाप्रतिको अनुराग पनि झल्काउँछ । त्यसैले यसको माग बढ्दो छ । एकल र सामूहिक चित्रकला प्रदर्शनी, ग्यालरी, स्वदेशी-विदेशी बजार र क्राफ्टको माध्यमबाट पनि मिथिला चित्रकलालाई बजारसँग जोड्दै जानुपर्ने देखिन्छ । 

चित्रकार सुनयना भन्छिन्, “मिथिला चित्रकलालाई उपयुक्त बजारको अभाव छ । यसमा धेरै काम गर्नु पर्ने बाँकी छ । यद्यपि यसको बजारीकणका लागि हामीले नीति बनाएर हिँड्न सक्यौं भने यो ठूलो बजार बन्न सक्छ । सरकारको सहयोग पनि उत्तिकै आवश्यक छ ।” उनले काठमाडौंको ठमेलमा पनि आफ्नो आर्ट ग्यालरी सञ्चालन गर्नुभएको छ । कोरानाको समयमो अन्य व्यापारजस्तै चित्रकलाको व्यापारलाई पनि प्रभावित पारेको उन बताउँछन् । उनको ग्यालरीमा मिथिला चिलकलाको अम्बार छ, पारम्परिक चित्रकलादेखि लिएर नारी सशक्तीकरण, वतावरण, विभेदविरुद्धको हुँकारलगायतका चित्रकलाले सजिएको छ । यस अतिरिक्त मिथिला चित्रकलाका साडी, सल, खादा, कप, ब्यागलगायतका उपहार दिन मिल्ने वस्तुहरू पनि उपलब्ध छ । विदेशी पर्यटकहरु पनि आर्ट ग्यालरीमा आएर विभिन्न चित्रकला खरिद गर्ने गर्दछन् ।'

चित्रकला क्यान्भासमा मात्रै नगरेर साडी, कुर्ता, सलमा गरेर पनि आयआर्जन गर्न सकिने सुनयनाको भनाइ छ । उनी भन्छिन्, “यसले धेरै गृहणी महिला जो मिथिला चित्रकलामा निपुण हुनुहन्छ उनलाई घर बसीबसी काम गर्ने वातावरण हुन्छ ।” सङ्घीय र प्रदेश सरकारको सहयोगका साथ अघि बढ्यौं भने मिथिला चित्रकलामा नेपाल बृहत बजार बन्न सक्ने उनको तर्क छ । मिथिला चित्रकलाका पारखीहरूले मात्र चित्र अथवा क्राफ्ट किन्ने उनको अनुभव छ । दश जना महिलाको समूहबाट कामको शुरुआत गर्दै यतिबेला सुनयनाले २५ जनालाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा रोजगार दिएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ