भारतीय मूलकी अनिता आनन्द बन्न सक्छिन् क्यानाडाकी प्रधानमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
2k
Shares
काठमाडौँ । क्यानाडामा नयाँ प्रधानमन्त्रीको खोजी भइरहेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको चर्चा भइरहेको छ ।
जसमा भारतीय मूलकी सांसद अनिता आनन्दको नाम प्राथमिकताका साथ उठाइएको छ । मिडिया रिपोर्ट्सका अनुसार सत्ताधारी लिबरल पार्टी सन् २०२५ मै हुने संसदीय चुनावभन्दा अगाडि आनन्दलाई प्रधानमन्त्रीको जिम्मेवारी दिन सक्ने आँकलन गरिएको छ ।
बुधबार पार्टीको राष्ट्रिय कंग्रेसको बैठक पनि बस्दैछ । आनन्दको नाममा सहमति बन्न सक्ने मिडियाहरुले आँकलन गरेका छन् । योसँगै भारतीय मिडियाहरुले पनि उनको नाम लिइरहेका छन् ।
यदि उनी प्रधानमन्त्री भए क्यानाडाको इतिहासमै पहिलो अस्वेत प्रधानमन्त्री हुनेछिन् ।
आनन्द लिबरल पार्टीकी अग्रज सदस्य हुन् । उनी सन् २०१९ मा संसद सदस्य भएकी थिइन् । उनले ट्रुडो सरकारमा प्रमुख विभाग पनि सम्हालेकी थिइन् ।
उनी २०२४ देखि यातायात तथा आन्तरिक उद्योग मन्त्री पनि भएकी छिन् । ट्रुडोले गत ६ जनवरीमा पार्टी नेता तथा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । उनी सन् २०१५ देखि प्रधानमन्त्री रहँदै आएका छन् ।
को हुन् अनिता आनन्द
अनिताका बाबु भारतको तमिलनाडूका हुन् । उनकी आमा पञ्जाबकी हुन् । अनिताको जन्म भने क्यानाडामै भएको थियो ।
उनले क्विन्स विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातक, अक्सफोर्ड विश्वविद्यालयबाट न्यायशास्त्रमा स्नातक, हलहोजी विश्वविद्यालयबाट स्नातक तथा टोरन्टो विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छिन् ।
५७ वर्षीया अनिता पेशाले अधिवक्ता हुन् । उनी क्यानाडाको रक्षा मन्त्रालय सम्हाल्ने दोस्री महिला हुन् । यसअघि सन् १९०० मा किम क्याम्पबेलले उक्त जिम्मेवारी सम्हालेकी थिइन् ।