सरकारले राजनीतिक स्थायित्वको आशा जागृत गरेको एमालेको निष्कर्ष [भिडियो]
अध्यक्ष ओली र महासचिव पोखरेलको प्रतिवेदन पारित गर्दै सकियो एमाले बैठक
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
485
Shares
काठमाडौँ । नेकपा (एमाले) को आठौँ केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । आइतबारदेखि शुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बैठकमा समसामयिक राजनीतिक विषयमा महत्त्वपूर्ण निर्णय भएको जानकारी दिए । उनले बैठकले कांग्रेस–एमालेको सहकार्यमा सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको समेत बताए । बैठकले सुशासन, जनतालाई डेलिभरी दिने सन्दर्भमा सरकारलाई यथेष्ट सुझाव तथा सल्लाह दिएको समेत बताए ।
उनकाअनुसार सत्तारुढ दलहरुबीचको आपसी विश्वास र समझदारी अझै सुदृढ बनाई सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम सफल होस् भन्ने कामना गरेको छ । उनले विगत तीन दशकमा सशस्त्र द्वन्द्व, कोरोना महामारी र नाकाबन्दीका बाबजुद मुलुकले प्राप्त गरेका उपलब्धिहरू महत्त्वपूर्ण भए पनि समाजवाद उन्मुख राज्य निर्माणमा हामी दृढ भएर अघि बढ्ने सङ्कल्प बैठकले लिएको बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि आत्मविश्वासका साथ बढ्ने र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रूपान्तरण गर्ने अभियानमा सहभागी हुन सबैलाई आह्वान गरिएको समेत बताए ।
बैठकका निर्णयहरू सुनाउँदै उनले भने, ‘नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज सम्पन्न हुने क्रममा रहेको छ । तीन दिनसम्म चलेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन पारित भएको छ । त्यसमा रहेका विभिन्न १४ वटा महत्त्वपूर्ण प्रस्तावहरू पारित गर्दै आजको बैठक समापनतर्फ गइसकेका छौँ । मूलतः राजनीतिक, समसामयिक प्रस्तावहरूमा हामीले नेपाली कांग्रेस एमाले नेतृत्वको सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको, प्रमुख राजनीतिक दलहरूको नेतृत्वमा सात दल समावेश भएको सरकारले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको तथा पार्टीले गर्नुपर्ने केही महत्त्वपूर्ण कामहरू सुशासन, डेलिभरीका सन्दर्भमा सरकारलाई यथेष्ट सुझाव तथा सल्लाह दिएको छ । र सत्तारुढ दलहरुबीचको आपसी विश्वास र समझदारी अझै सुदृढ बनाउँदै यस ऐतिहासिक सरकारलाई सफल बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व कायम गर्न सफल होस् भन्ने बैठकले कामना गरेको छ । दोस्रो, लामो सशस्त्र द्वन्द्व र लामो सङ्क्रमण काल, भूकम्प महामारीको बीचमा विगत तीन दशकमा हामीले प्राप्त गरेका उपलब्धिहरू महत्त्वपूर्ण छन् । यद्यपि आज पनि सुस्त विकास, न्यून आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भरता जस्ता चुनौतीहरू विद्यमान छन् । यसलाई राष्ट्रिय पुँजीको निर्माण गर्दै समाजवाद उन्मुख राज्य निर्माणमा हामी दृढ सङ्कल्प बन्नुपर्छ र समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नका निम्ति बलियो आत्मविश्वासका साथ हामी अगाडि बढ्नुपर्छ र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रूपान्तरण गर्ने अभियानमा सहभागी हुन हामीले सबैलाई आह्वान गरेका छौँ । त्यसैगरी, स्वदेशभित्र अवसर नदेखेर अथवा भएको अवसर सदुपयोग गर्न नसकेर युवाहरूको युवाहरूको प्रवाशनबारे नेकपा एमाले चिन्तित र संवेदनशील छ । देशभित्रै केही गरौँ भनेर हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग गर्ने निर्णय समेत भएको छ ।’
बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न एमालेले सबैलाई ३ मिनेटको समय छुट्टाएको थियो ।