मधेस विश्वविद्यालयका उपकुलपति शाक्यको कर्तुतः तलब सुबिधा सरकारी, बजारीकरण आफ्नो निजी क्याम्पसलाई
दीपेन्द्र चौहान,
प्रकाशित २०८१ पुष २१ आइतबार
1.2k
Shares
वीरगञ्ज । तलब सुबिधा मधेस विश्वविद्यालयबाट बुझ्ने, प्रबर्द्धन र बजारीकरण आफ्नो निजी वीरगञ्ज पब्लिक क्याम्पसलाई गर्दै आएका मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले खराब नियत राखेर नेपाल बाल संगठनको जग्गा वर्षौंदेखि हडपेर लाभ उठाइरहेको तथ्य प्रमाणले देखाएको छ ।
वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. शाक्य नेपाल बाल संगठन पर्साको सदस्य हुँदा आफ्नै छोरा संकल्प शाक्यको नाममा वीरगञ्जको मुटु मानिने आदर्शनगरको १२ कठ्ठा जग्गा २७ वर्षको लागि लिजमा कौडीको मोलमा दिलाएको तर हालसम्म कबोल गरेको रकम दाखिल नगरेको रहस्यसमेत अहिले आएर खुलेको छ । सो जग्गामा डा. शाक्यका छोरा संकल्प शाक्यले आदर्श विद्यालय चलाउँदै आएका छन् ।
२०६८ असार २१ गते भएको सम्झौता अनुरुप दुई वर्षको लागि १६ हजार १०० र त्यसपछि २१,१०० को दरले मासिक बाल संगठनलाई दिने र प्रत्येक तीन वर्षपछि मासिक भाडामा १० प्रतिशत रकम वृद्धि हुने सर्त अनुरुप डा. शाक्यले जिम्मेवारी पूरा नगरेको पाइएको छ ।
शाक्य चरम अवसरवादी व्यक्ति भएको उनलाई नजिकबाट चिन्ने साथीहरुको भनाइ रहेको छ । पञ्चायतकालमा मण्डले, बहुदल आएपछि चैते कांग्रेसी भएर लाभ उठाउन सफल डा. शाक्य मधेस आन्दोलनताका आफ्नो कलेजको वाईफाईको पासवर्ड 'जयमधेस' राखेर चरम अवसरवादको नमूना प्रदर्शन गर्दै गत आम निर्वाचनताका जसपा नेपालको पार्टी 'फण्ड'मा ठूलो रकम चन्दा दिएको कारण तत्कालीन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उनलाई मधेस विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका थिए ।
देशभरि नै बालमन्दिरको जग्गाको विषयमा अध्ययन अनुसन्धान भइरहेको कतिपय मुद्दाहरु अदालतमा विचाराधीन रहेको भन्दै पर्सा बालमन्दिरको जग्गाको विषयमा आफू जानकार भएको नेपाल बाल संगठन अध्यक्ष विद्या उपाध्याय न्यौपानेको भनाइ छ । उनका अनुसार अब यो प्रक्रिया नयाँ ढंगले अगाडि बढ्नेछ ।
डा. दीपक शाक्य एक पटक आफूलाई भेट्न आउँदा तपाईं आफैँ नेपाल बाल सङ्गठन पर्साको, टेण्डर सूचना ननिकाली आफ्नै छोरा संकल्प शाक्यलाई कौडीको मोलमा जग्गा लिजमा किन दिनुभयो ? भनी प्रश्नसमेत गरेको अध्यक्ष न्यौपानेको भनाइ छ ।
यो कुनै हिसाबले मनासिव नदेखिएकोले यस प्रकरणमा पुनर्विचार हुने अध्यक्ष न्योपानेको भनाइ छ ।
मधेस विश्वविद्यालयका उपकुलपति डा.शाक्य देशभित्र मात्र नभइ विदेशमा समेत आफ्नो निजी वीरगञ्ज पब्लिक कलेजलाई प्रबर्द्धन गर्न पछि पर्दैनन् । मधेस विश्वविद्यालयको उपकुलपतिको हैसियतमा हालै एक कार्यक्रममा अस्ट्रेलिया जाँदा उनलाई ग्रान्ड जुरी बनाइएको थियो।
त्यस कार्यक्रममा आफ्नो कलेजलाई काठमाडौँ बाहिरको उत्कृष्ट कलेज भनी आफैँले आफूलाई पुरस्कृत गरेका थिए ।
नेपाल बाल सङ्गठनका केन्द्रीय सदस्य पराग सिंहका अनुसार हालसम्म डा शाक्यले १३ वर्षको दरम्यान पटक पटक ताकेता गरेपछि जम्मा १६ लाख रुपैयाँ दाखिला गरेको र जरिबाना बाहेक २१ लाख भन्दा बढी रकम असुल गर्न बाँकी रहेको देखिएको भन्दै अडिट गर्ने काम भइरहेको बताए ।