समाज विभाजित गर्ने अभिव्यक्ति नदिन प्रचण्डलाई आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
506
Shares
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरू राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको बताए । उनले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश सम्प्रेषण गर्न जरुरी रहेको बताए ।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै भविष्यमा कतै भेटै नहुने गरी अभिव्यक्ति नदिन आग्रह गरे । उनले पदहरू अस्थायी रहेकाले सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा नै स्थायी हुने उल्लेख गरे ।
उनले भने, ‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौँ । यसो अहिले हेर्दा कहिले लाग्छ, सम्माननीय पूर्वप्रधानमन्त्रीज्यु यहीँ हुनुहुन्छ । हामीलाई यसो लाग्छ, कहिले कहीँ नेताहरूको अभिव्यक्ति, नेताहरूले गरेका व्यवहार, कार्यशैलीहरूले समाजलाई कताकति विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो की भन्ने पनि लाग्छ । हामी भुईँ पस्ताका युवाहरूको एउटा आग्रह छ । राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश सम्प्रेषण गर्नपर्छ । त्यो सूचना सम्प्रेषण गर्ने आज राजनीतिक दल र नेतृत्व पनि हो । त्यो ठाउँबाट हामीले ठिक ढङ्गको सन्देश सम्प्रेषण गर्ने प्रक्रिया आरम्भ गर्नुपर्छ । यो बीचमा कताकति त्यो तलवितल भएको हो की भन्ने अनुभूति छ । आजको संसद्को गणितले सरकार यस्तै तरिकाले बनिरहने, भत्किने, लोकतन्त्रमा यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । पदहरू भनेको अस्थायी कुराहरू हुन् । स्थायी कुरा भनेको सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा पनि हो । यी कुरामा पनि हामीले ध्यान दिनुपर्छ । हरेकले के सोच्नुपर्छ भने आगामी यात्रामा कुनै पनि घुम्तीमा कहिले पनि भेटै नहुने गरी अभिव्यक्तिहरू आउने कुराले नेपालको राजनीति सफा हुन खोजिरहेको छैन ।’
प्रमुख सचेतक बर्तौलाले राजनीतिक नेतृत्वबाट देशमा सकारात्मक सन्देश जाने गरीकन अभिव्यक्ति दिनुपर्ने बताए । भविष्यमा भेट हुन्छ भन्ने स्मरण गरेर अघि बढ्न जरुरी रहेको बताए ।