नेपाल भारतका उच्च सुरक्षा अधिकारीहरूको बैठकको बर्दिबासमा
सञ्जय मिश्र,
प्रकाशित २०८१ पुष १४ आइतबार
1.6k
Shares
रौतहट। नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरूको बैठक मधेस प्रदेशको बर्दिबासमा सम्पन्न भएको छ। नेपाल र भारतको सीमा क्षेत्रमा हुने अवैध गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्ने दुई देशिय उच्च सुरक्षा अधिकारीहरूको बैठकले निर्णय गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बीच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिबासमा भएको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। सशस्त्र प्रहरी बल¸नेपाल नम्बर २ को आयोजनामा डिआइजी स्तरीय बैठक शनिवार साँझ सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बीच नियमित रूपमा हुने स्तरीय समन्वयात्मक बैठकको आयोजना सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले गरेको हो।
दुई पक्षीय बैठकमा सीमा सुरक्षा¸सीमा अपराध नियन्त्रण तथा रोकथाम लागू औषध नियन्त्रण¸सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो। कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्न सहयोग मिल्ने सशस्त्र प्रहरी बल नम्बर २ बाहिनीले जानकारी गराएको छ।
बैठकमा सशस्त्र प्रहरी बल¸नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति डिआइजी कालीदास धौवजी , भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीको सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआइजी दीपक कुमार, आईपिएस सेक्टर हेड क्वाटर पूर्णियाका डिआइजी राजेश टीकु, सेक्टर हेड क्वाटर बेतियाका डिआइजी एस सुब्रमन्यमको उपस्थिति रहेको प्रदेश प्रवक्ता तथा सशस्त्र प्रहरीका एसएसपी सुरजसेन ओलीले बताएका छन्।
त्यसै गरी दुई दिने कार्यक्रममा मधेस प्रदेश स्थित सशस्त्र प्रहरी बल नेपालका गणपतिहरू ,निमित्त गणपतिहरू लगायतका अधिकृतहरू , एसएसबीका बटालियन कमाण्डेन्टहरु लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय बर्दिबासले जनाएको छ।