arrow

भारतको अष्ट्रेलियाविरुद्ध कमजोर प्रदर्शन, रोहित यो वर्ष १० पटक एकल अंकमा आउट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १२ शुक्रबार
rohit-sharma-flop-test.jpg
तस्बिर – रोहित शर्मा, एपी ।

काठमाडौँ । भारत आईसीसी वल्ड टेष्ट च्याम्पियनशिपको फाइनलमा पुग्ने होडबाट लगभग बाहिरिएको छ । अष्ट्रेलियाविरुद्ध जित्नैपर्ने मेलबर्नमा जारी टेष्टमा कमजोर प्रदर्शन गरेसँगै टेष्ट च्याम्पियनशिप खेल्ने आशा लगभग सकिएको हो । 

चौथो खेलमा पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले स्टेभेन स्मिथको १४० रनको मद्धतले ४७४ रन बनायो । जसप्रित बुमराहले सर्वाधिक ४ विकेट लिए । 

स्मिथ बोर्डर गबास्कर ट्रफीमा सबैभन्दा बढी शतक हान्ने खेलाडीसमेत बनेका छन् । उनको नाममा १० शतक रहेको छ । 

उनले सचिन तेन्दुलकर र विराट कोहलीको समान ९ शतक तोडेका छन् । 

जवाफमा मैदानमा उत्रिएको भारतले शुक्रबार दोस्रो दिनको समापितसम्म ५ विकेटको क्षतिमा १६४ रनमात्र बनाएको छ । विराट कोहली ३६ रन बनाएर आउट भए । 

यता कप्तान रोहित शर्मा ५ बलमा ३ रन बनाएर पभेलियन फर्किए । सन् २०२४ मा सबैभन्दा खराब फर्ममा रहेका रोहित १० पटक एकल संख्याको रनमै पभेलियन फर्केर खराब रेकर्ड बनाएका छन् ।

उनी विश्वकै तेस्रो खेलाडी हुन् । पहिलो नम्बरमा न्यूजिल्याण्डका टिम साउदी छन् । उनी १३ पटक अउट भएका छन् । त्यस्तै इङ्गल्याण्डका ओली पोप ११ पटक आउट हुँदा भारतीय बलर जसप्रित बुमराह पनि १० पटक आउट भएका छन् । 

भारतका लागि तेस्रो दिन ऋषभ पन्त ६ तथा रविन्द्र जडेजा ४ रनबाट अगाडि खेल्नेछन् । अष्ट्रेलियाका लागि पाट कमिन्स र स्कट बोलान्डले २–२ विकेट लिइसकेका छन् । 

कमिन्स बोर्डर गाबस्कर ट्रफीमा सबैभन्खा बढी विकेट लिने खेलाडी भएका छन् । उनले २७ इनिङ्समा ६२ विकेट लिइसकेका छन् । 

कमिन्सले भारतीय पूर्व बलर जहिर खानको नाममा रहेको ३४ इनिङ्समा ६१ विकेटको रेकर्ड तोडेका छन् । 

भारतले अष्ट्रेलियामा पाँच टेष्टको श्रृंखला खेल्दैछ । यसअघि पहिलो भारतले र दोस्रो अष्ट्रेलियाले जित्दा तेस्रो बराबरीमा सकिएको थियो । 

चौथो खेलमा भने भारत फलोअन जोगाउन कठिन स्थितिमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ