arrow

सम्पादकीय

क्रिकेटलाई अगाडि बढ्न देऔँ, नेपालको जित मनाऔँ 

सबैले सबैको सम्मान गरौँ, जातजाति, भेषाभुषा, भाषा, भेक मिलेर बसौँ, गल्ती नगरौँ, गल्ती गर्नेलाई सरकारले कारबाही गरोस् 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ८ सोमबार
npl-wide.jpg

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० फ्रेन्चाइज क्रिकेट भव्यपूर्वक सम्पन्न भएको छ । नेपाली खेलाडीहरू विदेशमा गएर व्यवसायीक खेल खेल्न पाउँदा खुशी मनाउने नेपालीका लागि आज क्यानले विदेशी खेलाडीहरू नै नेपालमा ल्याएर खेलाउँदै नेपाली खेलाडीहरूको व्यवसायीक दायरालाई फराकिलो पारेको छ । 

खेलाडीहरूले आफूलाई अब्बल सावित गर्ने अवसर पाएका छन् । बोलकबोलबाट खेलाडीहरू किनबेच हुँदा कुनै प्रदेश, समुदाय केही पनि हेरिएन । क्षमताको आधारमा जो जहाँबाट पनि खेल्ने वातावरण बन्यो । 

यसरी आठ फ्रेन्चाइजी टिमले पहिलो पटक खेलेको यस प्रतियोगिताले नेपाली खेलाडीहरूलाई विश्वमाझ चिनाएको छ । विश्वका दिग्गज खेलाडीहरूसमेत आएर पहिलो संस्करणकै एनपीएलमा खेल्दा नेपालले पनि गौरब गर्ने ठाउँ देखियो । 

राष्ट्रिय टिममा नपरेका नेपाली खेलाडीहरूलेसमेत आफ्नो क्षमताका आधारमा फ्रेन्चाइजी टिममा रहेर दिग्गज विदेशी खेलाडीसँग मैदानमा उत्रदा उनीहरूको पनि मनोबल निकै बढेको छ । ४० वर्षको हाराहारीमा पुगेका अनुभवी खेलाडीहरूले १६ वर्षे नेपाली खेलाडीसँग बाँडेको अनुभवले फाइदा नेपाललाई नै भएको छ । 

भौतिक पूर्वाधारमा निकै पछि रहेको देश भए पनि फेन्चाइजी प्रतियोगिता गर्न क्यानले चाहँदा सम्भव हुने रहेछ भनेर देखाइदिएको छ । यसका लागि क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव एवं पूर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कादेखि समग्र क्यान परिवार धन्यवादको पात्र भएको छ । 

साथै फ्रेन्चाइजीलाई भरपूर सहयोग गर्ने दाता तथा फ्रेन्चाइजी मालिकहरू जो क्रिकेटमा भविष्य देखेर लगानी गरिरहेका छन् उनीहरू त झन् बधाई खाने पहिलो हकदार नै बनेका छन् । 

यो प्रतियोगिताले निरन्तरता पाउनका लागि प्रायोजकले जसरी साथ दिएका छन् त्यो भन्दा अझ बढी साथ अबका दिनमा दिनु जरुरी छ । प्रायोजकहरू ग्लोबल आईएमई बैंक, एनसेल, सिद्धार्थ बैंक लगायतले देखाएको आकर्षणले क्रिकेट मोह झन् बढ्ने छ । उनीहरूले सामाजिक उत्तरदायित्व बहन गरी सही लगानी गर्ने हो भने नयाँ पिँढीलाई अझ थप हौसला हुनेछ । 

साथै अब सरकारले कुनै पनि किन्तु परन्तु नभनी क्रिकेटमा लगानी गरोस् । भौतिक पूर्वाधारहरू धेरै भन्दा धेरै बनाओस् । फ्रेन्चाइजी भन्नासाथ ‘घरेलु मैदान’ र ‘घर बाहिरको मैदान’ अर्थात् ‘होम गेम’ र ‘अवे गेम’ हुन्छ । तसर्थ यी फ्रेन्चाइजीलाई अझ मजबुद बनाउने हो भने निजी क्षेत्रको साथ र दाताको सहयोग लिएर हरेक टिमको ‘होम गेम’ हुने गरी आठ ओटा मैदानको जरुरी देखिएको छ । 

दोस्रो संस्करणका लागि आजैदेखि तयारी गर्ने हो भने त्यो असम्भव छैन । लामो समयदेखि धेरैले कल्पना गरेको तर पहिलो पटक पूरा भएको यो फ्रेन्चाइजी प्रतियोगिताले धेरैको ढोका खोलेको हुनुपर्छ । यसलाई मनन गर्दै सरकारले जतिसक्यो छिटो यसको सम्बोधन गर्नुपर्छ । महिला फ्रेन्चाइजी लिगको पनि चर्चा उठ्न थालेको छ । नेपाली महिला क्रिकेटले विश्वकपमा स्थान बनाइरहँदा उनीहरूलाई पनि व्यवसायीक एक्सपोजरको खाँचो छ । क्यानले यसबारेमा पनि सोच्न ढिला गर्नु हुँदैन ।

आज जसरी वेष्ट इन्डिजका लिजेन्ड खेलाडी ब्रायन लारा नेपाली लिग हेर्न आए भोलिको संस्करणमा अझ दिग्गज र चर्चित खेलाडीहरू पनि आउनेमा दुईमत छैन । किनकि नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । क्रिकेटलाई खेल पर्यटनसँग जोड्न सके अतिथि सत्कार गरेर नेपाल फुर्सद नहुन सक्छ । यसले खेलकुदमात्र हैन हरेक क्षेत्र चलायमान हुन सक्छ । 

जसरी भारतीय क्रिकेटका गब्बर भनेर चिनिने शिखर धवनले कर्णाली याक्सबाट चार ओटा व्यवसायीक खेल खेलेर माउन्टेन फ्लाइटसमेत लिएर फर्के त्यसले भारतीयसँगै विश्वभरकै क्रिकेटलाई तरङ्ग पैदा गरिदिएको छ । 

साथै स्टार स्पोर्टसमा भएको प्रत्यक्ष प्रशारण अनि अंग्रेजी भाषामा गरिएको कमेन्ट्री र नेपालका बारेमा कमेन्टेटरहरूले खर्चेका प्रशंसाका धेरै वाक्यहरूले नेपाली क्रिकेटको उचाइ एकाएक बढाइदिएको छ । सँगसँगै बाह्य पर्यटकलाई नेपाल भ्रमणको निम्तो पनि भएको छ ।  

अब हामी नेपालीले पनि क्रिकेटलाई एकताको प्रतीकको रुपमा विकास गर्नु महत्वपूर्ण छ । आठ फ्रेन्चाइजी टिमले खेल्दा प्रदेश पिच्छे र टिम पिच्छे आफ्नो टिमलाई समर्थन गर्नु राम्रो देखियो । आफ्नो भेकको टिमलाई समर्थन गरी कीर्तिपुर मैदानमा जानु पनि असाध्यै राम्रो देखियो । 

तर खराब देखियो त केबल आफ्नो टिमको समर्थन गर्दा अर्को टिमलाई गाली गर्नु । अर्को प्रदेशलाई गाली गर्नु अनि हिमाल, पहाड र मधेसको भेकलाई लिएर गाली गर्नु । सामाजिक द्वेष निम्त्याउनु ।

सामाजिक सञ्जालदेखि खेल मैदान बाहिरिसमेत त्यो दृष्य देखिनुले एकले अर्कालाई नस्वीकार्ने पद्धतिको विकास हुनु गलत भएको छ । यसलाई रोक्नुपर्छ । 

नेपाललाई जातजाति, भेषभूषा, धर्म, भेकलाई लिएर द्वन्द्वको रोटी सेक्न खोज्ने धेरै समूह छन् । उनीहरू नेपालीबीच द्वन्द्व फैलाएर आफ्नो उद्धेश्य पूरा गर्न लागिपरेका छन् । त्यस्ता तत्वलाई फैलिन नदिउँ । हामी संयमित बनौँ ।

उक्साहटमा नलागौँ । हामी सम्हालिउँ । हामी नेपाली हुनुमा गर्व गरौँ अनि सबैले सबैलाई सम्मानको दृष्टिले हेरौँ । विश्वले नेपालको विभिन्न दृष्टिकोणले प्रशंसा गरिरहँदा हामी आन्तरिक किचलोमा नफसौँ । 

सरकारले पनि यसलाई सोही अनुसार लेओस् । हरेक नेपालीलाई सुरक्षा दिने जिम्मा सरकारको हो । कसैले गल्ती गर्छ भने कारबाही गर्ने काम उसको हो । तर संरक्षण दिने कामबाट सरकार पन्छिन पाउँदैन । 

सामाजिक सञ्जालमा विकृति छ भने त्यसलाई रोक्ने काम पनि सरकारकै हो । जथाभावी लेख्नेलाई कारबाही गर्नेदेखि लिएर लेख्नै नमिल्ने पनि बनाउन सकिन्छ । प्रायः आरोप प्रत्यारोप फेसबुकमा भएको देखिन्छ । त्यो फेसबुकमा लेखिने गलत शब्दलाई पोष्ट गर्न नै नमिल्ने पनि बनाउन सकिन्छ । फेसबुकले देख्नासाथ त्यस्ता नश्लीय, साम्प्रदायिक सद्भाव भड्किन सक्ने विचारलाई हटाउन सक्छ । 

जसरी सरकारले सद्भाव भड्कियो भनेर टिकटकलाई व्यवस्थित बनाउन सक्छ भने फेसबुकलाई पनि सक्छ । सरकार त्यतातर्फ लागोस् । आफू स्वतन्त्र हुनुपर्छ । सबैले स्वतन्त्रता पाउनु पर्छ । तर आफ्नो स्वतन्त्रताका नाममा कसैको स्वतन्त्रता हनन गर्न पाइन्न । 

अन्त्यमा, एनपीएलकै खेलतर्फ फर्कँदा आसिफ शेर र आरिफ शेख दाजुभाइ हुन् । दुवै छुट्टाछुट्टै टिमबाट खेले । आसिफ सहभागीे जनकपुर बोल्ट्सले उपाधि जित्दा आरिफ शेखको सुदूरपश्चिम रोयल्स उपविजेता बन्यो । 

अझ रोचक त के भने आसिफ र आरिफका बाबुआमा छुट्टाछुट्टै टिमको समर्थनमा रहेर खेल हेर्दा वरिपरिको माहोल कम्ता रोमाञ्चक थिएन । आमा सुदूरपश्चिम र बुबा जनकपुर टिमका समर्थक । 

एनपीएल सफल भएसँगै यहाँ जित नेपालको भएको छ । नेपाली क्रिकेटको भएको छ । तसर्थ सबै मिलेर क्रिकेटलाई अगाडि बढ्न देऔँ । नेपालको जित मनाऔँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ