काठमाडौँ । गीताको १८ अध्यायको पाठ एवं गीताप्रेसबाट नेपाली भाषामा प्रकाशित भएको स्वामी रामसुखदासजी महाराजको श्रीमद्भगवद्गीताको प्रसिद्ध ग्रन्थ साधक सञ्जीवनी एवं श्रीमद्भागवतको जीवन उपयोगी ग्रन्थ जीवन सञ्जीवनी नेपाली अनुवादको विमोचन गरिएको छ ।
कार्यक्रममा स्वामी रामसुखदासजी महाराजको सत्संगमा रहेका वृन्दावन निवासी स्वामी नवलरामजी महाराजको सान्निध्यमा एवं महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको प्रमुख आतिथ्य र पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्टज्यू र डा गोविन्द टण्डनज्यूको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम भएको हो ।
गीता प्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं र गीता परिवार नेपालको व्यवस्थापनमा श्रीगीता जयन्ती कार्यक्रम गीता माताको आराधना, विभिन्न स्कुलका विद्यार्थीहरु र गीता साधकहरुको सहभागीतामा गीताको १८ अध्यायको पाठ एवं गीताप्रेसबाट नेपाली भाषामा प्रकाशित भएको स्वामी श्री रामसुखदासजी महाराजको श्रीमद्भगवद्गीताको प्रसिद्ध ग्रन्थ साधक सञ्जीवनी एवं श्रीमद्भागवतको जीवन उपयोगी ग्रन्थ जीवन सञ्जीवनी नेपाली अनुवादको विमोचन गरी भव्य रुपमा मनाइएको हो ।
गीता प्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षले उपस्थित सबैको स्वागत गर्दै गीताप्रेस नेपालको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराएका थिए ।
उनले स्वागतको क्रममा गीता प्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यलाई नेपाली भाषामा अनुवाद गराई प्रचार प्रसार र बिक्री वितरण गर्ने कार्य भइरहेको र गीता प्रेस नेपालको स्थापनापछि हालसम्म ५५ भन्दा बढी पुस्तकहरु नेपाली भाषामा अनुवादित भएको बताए ।
त्यस्तै १८ पुराणलाई नेपाली भाषामा प्रकाशित गराउने लक्ष्यसहित आजको दिनसम्म श्रीमद्भागवतमहापुराण, श्रीशिवमहापुराण, श्री विष्णुपुराण, श्रीमद्देवीभागवतमहापुराण प्रकाशित भइसकेको र मत्स्यमहापुराण, लिङ्गपुराण, शुक सुधा सागरको नेपाली संस्करण आउने जानकारी गराए ।
कार्यक्रममा पुशपतिनाथका मूल भट्ट गणेश रावलले आशीर्वाद प्रदान गरेका थिए । यसैगरी मानव सेवा आश्रमका संस्थापक डा गोविन्द टण्डनले मन्तव्य दिएका थिए ।
कार्यक्रममा स्वामी रामसुखदासजी महाराजको सत्संगमा रहेका वृन्दावन निवासी स्वामी नवलरामजी महाराज र प्रमुख अतिथि परमहंस परिव्राजकाचार्य श्रोत्रियब्रह्मनिष्ठ निरञ्जन पीठाधीश्वर अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी श्री आत्मानन्द गिरिजी महाराजले शुभकामना एवं मार्गदर्शन दिएका थिए ।
कार्यक्रममा उपस्थितहरुलाई आयोजक समिति एवं गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तर्फबाट कार्यक्रम संयोजक अनिल केडियाले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको संचालन डा वासुदेवकृष्ण शास्त्रीले गरेका थिए ।
कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापिठ, विद्याश्रम, विभिन्न समाजका पदाधिकारी, लव्ध प्रतिष्ठित महानुभाव, विद्वतवर्ग, गुरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।