नबिल बैङ्कले सुरु गर्यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैङ्किङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
444
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेडले अपोइन्टमेन्ट बैङ्किङ प्रणालीको सुरुवात गरेको छ। आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैङ्कले जनाएको छ। तत्कालको लागि नबिल बैङ्कको केन्द्रीय कार्यालय तीन धाराबाट यस प्रकारको सेवा दिन थालिएको छ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले प्रविधिको प्रयोगमार्फत थप छरितो र कुशल सेवा प्रदान गर्न यो प्रणाली सुरु गरिएको बताए। “हामी ग्राहकहरूको चाहानालाई महसुस गर्दै नवीन समाधानहरू प्रदान गर्न कटिबद्ध छौँ। अपोइन्टमेन्ट बैङ्किङ प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्ने, कुशल सेवा उपलब्ध गराउने हाम्रो लक्ष्यलाई प्रतिबिम्बित गर्दछ,” ढुङ्गानाले भने।
नबिलले व्यस्त पेसाकर्मी तथा व्यवसायीलाई लक्षित गरी नवीनतम प्रविधिमा आधारित अपोइन्टमेन्ट बैङ्किङ प्रणालीको प्रयोग गरेर ग्राहकले आफूले चाहेको समय अर्थात् आफूले बुक गरेको समयमा बैङ्कबाट सेवा लिन सक्नेछन्।
नगद र चेक कारोबार जस्ता अत्यावश्यक बैङ्किङ सुविधा लिनका यो सुविधा लिन सकिने बैङ्कले जनाएको छ। सुरुवातदेखि नै डिजिटल बैङ्किङलाई प्राथमिकता दिँदै आएको नबिल बैङ्क लिमिटेडले ग्राहकको अनुभवका आधारमा नयाँ–नयाँ प्रणालीमा आधारित कदम अघि बढाएको छ। अपोइन्टमेन्ट बैङ्किङ प्रणाली डिजिटलाइजेसन अन्तर्गतकै नयाँ आयामको रूपमा लिइएको छ।
यो प्रणालीका मुख्य दुई विशेषता रहेको बैङ्कले जनाएको छ।
समय व्यवस्थापनका लागि उपयुक्त: यो प्रणाली समयको अभाव भएका व्यस्त व्यक्तिहरू र व्यवसायीका लागि छिटो, कुशल र गुणस्तरीय सेवा प्रदान गर्न विशेष रूपमा डिजाइन गरिएको हो।
सहज बुकिङ प्रक्रिया: ग्राहकहरूले नबिल बैङ्कको वेबसाइट वा एन बैङ्क एपमार्फत सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्ने व्यवस्था गरिएको छ।
ग्राहकहरूले नबिल बैङ्कको वेबसाइट वा एन बैङ्क एप प्रयोग गरी सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्छन्। ग्राहकले बैङ्कमा जानु अघि उल्लेखित प्लेटफममार्फत लिनुपर्ने सेवा र आफूलाई सहज हुने समय छनोट गर्ने सुविधा दिइएको छ। यसले समय व्यवस्थापनलाई ठुलो सहयोग पुर्याउने विश्वास गरिएको छ।
नबिल बैङ्क लिमिटेड नेपालमा बैङ्किङ क्षेत्रको एक अग्रणी संस्था हो। यो बैङ्कले ग्राहकको चाहानालाई केन्द्रमा राखेर नवीनतम र ग्राहक–मुखी वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ। नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ।
नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।