स्कार्पियो दुर्घटनामा निधन भएका चालकसहित आठै जनाको सनाखत, पाँच गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
627
Shares
रौतहट । बारा बरियारपुरस्थित प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गरेर फर्किरहेको स्कार्पियो रौतहटस्थित राजमार्गमा दुर्घटना हुँदा मृत्यु भएका चालकसहित ८ जना र घाइते सबै ५ जनाको सनाखत भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकास्थित धन्सार–लमाहा खोलाको नजिकै मंगलबार बिहान दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हो ।
स्कार्पियोमा सवार बालबालिकासहित पाँच जना घाइते छन् ।
बारा बरियारपुरस्थित लागेको पञ्चवर्षीय गढीमाई मेला दर्शन गरी सिराहातर्फ फर्किरहेको उक्त स्कर्पियो अनियन्त्रित भई बाटोबाट तल दाहिनेतर्फको रूखमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनगिाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बताए ।
मृत्यु हुनेमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा ३ का गाडी चालक श्रीकुमार यादव, दर्शनार्थीहरु स्थानिय ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीदेवी महरा, ६२ वर्षीया फूलमन्ती देवी महरा, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले बताएका छन् ।
मृतकमध्ये चालक बाहेक सबै दलित चमार जातिका मानिस हुन्।
घाइते हुनेहरुमा सोही ठाउँका उमेश महराकी श्रीमती वर्ष ३० की राधा महरा अनुहार, मुखमा चोट लागेको, उमेश महराको छोरा वर्ष २ को आर्यन महरा, भित्री चोट , गणेश महराको श्रीमती २५ की देवकुमारी महरा भित्री चोट, वर्ष ७ का छोरा ऋतिक महरा भित्री चोट र वर्ष ६० की कन्या देवी महरालाई पनि भित्री चोट लागेको डीएसपी राईले जानकारी दिएका छन् ।
घाइतेहरुको चन्द्रनिाहपुर स्थित अस्पतालमा सामान्य उपचारपछि बिहान सवा ४ बजे एम्बुलेन्सबाट बयोधा अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।