सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
468
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु जारी रहँदा त्यसमा सट्टेबाजी खेलाउन भारतीयहरू नेपाल आइरहेको खुलेको छ ।
प्रहरीले अनलाइन सट्टेबाजी खेलाइरहेको अवस्थामा चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार कोलकाता बाह्रसान बवुनगाद्धीका २४ वर्षीय सुन धोष, उत्तर प्रदेश कानपुरका २५ वर्षीय अमित यादव, बिहार सहरसाका २७ वर्षीय सुमन्त कुमार र सोही ठाउँका ३० वर्षीय ब्रजेश कुमार रहेका छन् ।
उनीहरूलाई दुई दिनअघि ब्युरोको टोलीले क्रिकेट मैदान कीर्तिपुरबाट पक्राउ गरेको हो । ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनीहरूले मंसिर १५ गतेदेखि जारी एनपीएलमा सट्टेबाजी खेलाइरहेका थिए।
उनीहरूले स्पोर्ट्स बाजी, प्रोबोलगायतका अनलाइन बेटिङ एप्सबाट पैसाको हारजित हुने गरी मैदानभित्रैबाट सट्टेबाजी खेलाइरहेका थिए ।
त्रिवि क्रिकेट मैदानमा एनपीएलका खेलहरु जारी रहँदा उक्त खेलहरूमा सट्टेबाजी खेलाउने भारतीय गिरोह नै सक्रिय रहेको अनुमान प्रहरीको छ। उनीहरु अझै पनि क्रिकेट मैदानमै रहेको अनुमानमा प्रहरीले अन्य सट्टेबाजहरूको खोजी गरिरहेको छ।
पक्राउ परेकालाई सट्टेबाजी गराउन नपाइने कसूरमा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।