कीर्तिपुरमा ६५ प्रतिशत मतदान, राति १० बजेदेखि गणना
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
599
Shares
कीर्तिपुर । काठमाडौँको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा ६५.३९ प्रतिशत मतदान भएको छ । कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार एक सय २२ रहेकामा २० हजार तीन सय ४६ मत खसेको थियो ।
मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार कीर्तिपुरका सबै २० मतदानस्थलमा बिहान ७ बजेदेखि शुरु भएको मतदान दिनभर शान्तिपूर्ण रुपमा रही साँझ ५ बजे सम्पन्न भएको हो ।
नगरपालिका प्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा प्रमुख पदमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार रहेका छन् भने वडा नं १ मा नौ तथा वडा नं ४ मा १२ उम्मेदवार चुनावी मैदानमा छन् ।
कीर्तिपुरका तत्कालीन नगरप्रमुख राजकुमार नकर्मी, वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जन र वडा नं ४ का वडाध्यक्ष श्यामराज अधिकारीको निधन भएपछि उपचुनाव भएको हो ।
मतगणना राति १० बजेदेखि
मतगणना भने राति १० बजेदेखि शुरु हुने भएको छ । मतदानपछि बसेको कीर्तिपुर नगरपालिकाको सर्वदलीय बैठकले मतगणना राति १० बजे देखि शुरु गर्ने निर्णय गरेको हो ।
जसअनुसार शुरुमा वडा नम्बर १ मा मेयरको त्यसपछि वडाध्यक्षको मतगणना शुरु गर्ने निर्णय गरिएको छ ।
यसैगरी वडा नम्बर ४ मा पनि शुरुमा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना शुरु हुने बताइएको छ । त्यसपछि वडा नम्बर २ देखि १० सम्मको वडाको मतगणना हुने बैठकले निर्णय गरेको छ ।