एनपीएल शुरु, जनकपुर र विराटनगर मैदानमा, जनकपुर बलिङमा
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १५ शनिबार
380
Shares
काठमाडौँ । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण काठमाडौँमा शुरु भएको छ । उद्घाटन खेलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स भिडिरहेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले बलिङ गरिरहेको छ ।
नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको घरेलु प्रतियोगितामध्ये एनपीएल सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ ।
नेपालमा व्यावसायिक क्रिकेटको विकास गर्ने लक्ष्यका साथ टी–२० फरम्याटमा खेलाइने एनपीएलको नतिजा आफ्नो पक्षमा ल्याउन विभिन्न टिमबीच रोमान्चकारी प्रतिस्पर्धा हुनेछ ।
एनपीएल क्रिकेट प्रतियोगितामा मुलुकका व्यापारिक क्षेत्रको सक्रिय सहभागिता रहेको छ । विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स जस्ता आठ वटा टिममा व्यापारिक समूह जोडिएका छन् । विभिन्न टिम किन्नका लागि उद्योगपति तथा व्यापारीहरुले करोडौं रुपैंयाँ लगानी गरेका छन् ।
निजी क्षेत्रका तर्फबाट घोषणा गरिएको खेलाडीको पारिश्रमिक तथा विजेताले पाउने पुरस्कारले पनि खेलाडीहरुलाई प्रोत्साहित गर्न सक्ने देखिएको छ । व्यापारिक घराना शारडा समूहले प्रतियोगितामा प्लेयर अफ दि सिरिज घोषणा हुने नेपाली खेलाडीलाई कार पुरस्कार प्रदान गर्ने भएको छ ।
मुलुकका सबै प्रदेशको प्रतिनिधित्व गरेका आठवटा टिममा नेपालका महत्वपूर्ण राष्ट्रिय खेलाडीहरुलाई मार्की खेलाडीका रुपमा समावेस गरी प्रत्येकलाई २० लाख रुपैयाँ पारिश्रमिक दिइने भएको छ ।
गोला प्रथाद्वारा छानिएका ती खेलाडीहरुमा विराटनगरमा सन्दीप लामिछाने, जनकपुरमा आसिफ शेख, चितवनमा कुशल मल्ल, काठमाडौँमा करण केसी, पोखरामा कुशल भुर्तेल, लुम्बिनीमा रोहित पौडेल, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी छन् । उनीहरुले एकै प्रतियोगिता खेलेर घोषित पारिश्रमिक पाउने छन् ।
यसैगरी राष्ट्रिय टिमका अन्य खेलाडीहरुलाई पनि अक्सनमार्फत विभिन्न टिममा छनोट गरिएको छ । यसरी अक्सन गरिदा एउटा टिमलाई १० खेलाडी खरिद गर्ने अवसर दिइएको थियो ।
समूह ए मा परेका खेलाडीलाई १० देखि १५ लाख, समूह बी मा परेकालाई पाँचदेखि १० लाख तथा समूह सी मा छानिएकालाई दुई लाखदेखि पाँच लाख रुपैयाँ दिइने भएको छ । नेपालको सन्दर्भमा यस्तो पारिश्रमिक आकर्षक मानिएको छ । क्रिकेट खेलाडीहरुले आफ्नै गृह मैदानमा खेलेर लाखौं रुपैयाँ पारिश्रमिक पाउनु राम्रो कमाइ हो ।
विश्व चर्चित खेलाडीको सहभागिता
एनपीएल क्रिकेट नेपाली खेलाडीहरुका लागि अन्तर्राष्ट्रिय खेलाडीहरुसँग कौशल सिक्ने महत्वपूर्ण अवसर पनि हो । विभिन्न मुलुकका क्रिकेट स्टारहरुले नेपाली टिमबाट खेल्दैछन् ।
भारतका बहुचर्चित क्रिकेटर शिखर धवन, इङ्गल्याण्डका टम मुर्स, क्यानाडाका साद विन जाफर, न्यूजिल्याण्डका स्कट कुगेलेइन,वेष्ट इण्डिजका रेमन रेइफर जस्ता विश्व चर्चित खेलाडीहरुले नेपाली खेलाडीहरु साथ सहकार्य गर्दैछन् ।
एउटा टिमले छ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने आयोजकको नियम रहेको छ । तर उनीहरुलाई टिमका तर्फबाट दिनु पर्ने पारिश्रमिक खुलाइएको छैन । अझ उल्लेखनीय पक्ष त विभिन्न अन्तर्राष्ट्रिय प्रशिक्षकले नेपालको प्रदेशको टिमको प्रशिक्षक तथा मेण्टरको रुपमा टिमलाई उपाधि दिलाउन सक्रिय भूमिका निभाउँदै छन् ।
पहिलो पटक डिजिटल बोर्ड
एनपीएलका लागि कीर्तिपुरस्थित क्रिकेट मैदानमा आवश्यक मर्मतसम्भार गरिएको छ । त्यहाँ पहिलो पटक डिजिटल बोर्डको जडान गरिएको छ । यस्तै खेल मैदानको पिचको स्तरमा सुधार गर्नुका साथै मैदानको बाउन्ड्री बढाइएको छ । क्रिकेट हेर्न जाने दर्शकहरुका लागि प्याराफिटमा चारवटा क्षेत्र बनाइएका छन् । कीर्तिपुर रङ्गशालामा एनपीएल हेर्न हजारौं दर्शकहरु उपस्थित हुने निश्चित छ ।
नेपालमा क्रिकेट प्रेमीहरुको संख्या उल्लेखनिय रहेको छ। अमेरिकामा विश्वकप क्रिकेटको बेला समेत नेपाली दर्शकहरु धेरै संख्यामा उपस्थित थिए । कीर्तिपुरमा बिगतमा क्रिकेट हुँदा रुखमा झुण्डिएर समेत खेल हेर्ने गरेका क्रिकेटप्रेमी दर्शकहरुका लागि यसपाली खेल हेर्न यसपालि बस्ने सुविधा सहितको प्याराफिट निर्माण गरिएको छ । तर त्यहाँ फ्लड लाइट जडान गर्ने कार्य भने सकिएको छैन । यदि फ्लड लाइट जडान भएको भए राति पनि खेल संचालनका लागि सहज हुने थियो ।
विश्वव्यापी पहुँच
एनपीएल क्रिकेटको पहुँच विश्वव्यापी रुपमा हुँदैछ । टेलिभिजनको प्रत्यक्ष प्रसारणका साथै अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिताका कारण विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकर्षित हुने भएको हो ।
अन्तर्राष्ट्रिय खेलकुद टेलिभिजन च्यानल स्टार स्पोर्टसमार्फत विश्वका विभिन्न मुलुकका क्रिकेटप्रेमीहरुले एनपीएलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर पाउने भएका छन् ।
विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा प्रत्यक्ष प्रसारण गरिसकेका कमेण्टेटरहरुको सहभागिता रहेको यसप्रकारको अन्तराष्ट्रिय प्रसारणबाट विश्वमा नेपालको प्रचारप्रसार हुन गई आगामी दिनमा पर्यटकहरुको वृद्धि हुन जाने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय ख्यातीप्राप्त क्रिकेट खेलाडीहरुको नेपाल आगमनका साथै अन्य गतिविधिको निरन्तर समाचार प्रचारप्रसारले पनि पनि विश्वको ध्यान आकर्षित गरेको छ ।