सरकारको निर्देशन बमोजिम नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु- अध्यक्ष श्रेष्ठ [भिडियो]
रोकिएको आईपीओ निष्कासन चाँडै शुरु हुन्छ, पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर काम गर्ने
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १२ बुधबार
567
Shares
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरू अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए । उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे ।
उनले धितोपत्र बोर्डको अध्यक्षविहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतीहरू रहेको उल्लेख गरे । उनले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पूँजीबजार विकासको काम गर्ने बताए । उनले बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरू अगाडि बढाउने बताए । अध्यक्ष श्रेष्ठले पुँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानुपर्ने बताए । उनले आफ्नो कार्यकालमा शेयर लगानीकर्ताहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनले पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै त्यसको सदुपयोग गर्न कोसिस गर्ने बताए ।
उनले भने,‘धितोपत्र बोर्डको अध्यक्ष विहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारी सम्हाल्न आइपुगेको छु । बोर्डमा ठूलो जिम्मेवारीका साथ आएको छु । चुनौतीहरू धेरै छ । नेतृत्वको अभावमा अड्किएका कामहरू त्यत्तिकै छन् । मैले विशेष गरेर पुँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानुपर्छ । लगानीकर्ताहरूको सुरक्षा पहिलो प्राथमिकता हो । पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ । त्यसको हामीले सदुपयोग गर्न सकिरहेका छैनौँ । पुँजीबजारलाई अत्यधिक रूपमा प्रयोग गर्नसक्छौं । यी नै विषयलाई प्राथमिकताका साथ काम गर्ने उद्देश्यले जिम्मेवारीमा आएको छु । नयाँ स्टक एक्सचेन्जको सवालमा म स्पष्ट छु । नेपाल सरकारको नीति निर्देशन जे हुन्छ । त्यहीअनुसार अगाडि बढ्ने हो । धेरै विषयहरू अगाडि बढेको स्थिति छ । सरकारले गठन गरेको समितिले सुझाव बुझाएको अवस्था छ । अब सरकारको के निर्देशन आउँछ । त्यही अनुरूप अगाडि बढ्ने हो । आइपीओ निष्कासनको विषयमा साथीहरूसँग वस्तु स्थिति बुझ्छु । आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो । प्रक्रियाबाट अगाडि बढ्छ । स्थायी नेतृत्व नहुँदा आईपीओ रोकिएको थियो । त्यो समस्या समाधान हुँदै जान्छ । मेरो कार्यकालमा मैले धितोपत्र बोर्डको आफ्नै भवन पहिलो प्राथमिकतामा छ । अर्थमन्त्री ज्युसँग पनि यो विषयमा छलफल भएको छ । सकारात्मक रूपमा सहयोग गर्ने भन्नु भएको छ । पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायहरूसँगको सहकार्यमा लाग्ने र नेपाली पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने गरी काम गर्ने योजना छ ।’
उनले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउने गरी काम गर्ने बताए । उनले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे । उनले पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायहरूसँगको सहकार्यमा लाग्ने र पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने उल्लेख गरे । अध्यक्ष श्रेष्ठले एभरेस्ट बैङ्कलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय गरेका छन्।