धितोपत्र अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त, प्राथमिकतामा नयाँ एक्सचेन्जको लाइसेन्स
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ११ मंगलबार
699
Shares
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।
धितोपत्र बोर्ड गत वर्ष पुस २० गतेदेखि नेतृत्वविहीन थियो। व्यवसायी श्रेष्ठले आफू अध्यक्षमा नियुक्त भएपछि नयाँ एक्सचेन्जको लाइसेन्स वितरणलाई प्राथमिकतामै राखेको बताएका छन् ।
मिडियासँग उनले आफ्नो प्राथमिकतामा नयाँ लाइसेन्स दिने भन्ने रहे पनि सरकारले वितरण नगर्न भन्यो भने रोकिने पनि बताएका छन् ।
उनलेृ धितोपत्र बोर्ड एक्लैले लाइसेन्स दिने–नदिने भन्ने निर्णय गर्न नसक्ने बताउँदै सरकारको मार्गनिर्देशमा भर पर्ने बताएका हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार श्रेष्ठसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
अध्यक्ष सिफारिस समितिले स्याङ्जाका श्रेष्ठसहित बोर्डकै दुई कार्यकारी निर्देशक नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठलाई सिफारिस गरेको थियो ।
यसरी चुनिए श्रेष्ठ
समितिले फागुनमै आवेदन खुलाएकामा १९ जनाको आवेदन परेमध्ये नेप्सेका सीईओ कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं, सन्तोषनारायण श्रेष्ठ तथा बोर्डका दुई कार्यकारी निर्देशक डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ गरी पाँच जना सर्टलिस्टमा परेका थिए ।
मुक्तिनाथ र सन्तोषनारायणले असारमै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरे पनि बाँकी तीन जना भने अर्थ मन्त्रालयले दुई पटक अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि बोलाएकामा अनुपस्थित भए ।
कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था धितोपत्र सम्बन्धी ऐनमा भएसँगै समितिले तीन जना पुर्याउन सकेको थिएन ।
सरकारले नयाँ प्रक्रिया थाल्न अर्को सिफारिस समिति गठन गरेसँगै त्यो प्रक्रिया रोक्नुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भयो । पुरानो प्रक्रिया चलिरहेको अवस्थामा नयाँ प्रक्रिया शुरु नगर्न भन्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।
यसको पेशी माघ ३० गतेका लागि तोकिएको थियो । नयाँ सरकार बनेपछि सरकारले अध्यक्ष नियुक्तिको पुरानै प्रक्रियालाई ब्य्ँताएर फेरि अन्तर्वार्तामा बोलायो । यसअघि अन्तर्वार्तामा अनुपस्थित रहेका तीन जना उम्मेदवारलाई पुनः अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिका लागि बोलाएकामा चापागाईं अनुपस्थित रहे भने कार्की र अधिकारीले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरे ।
तब बल्ल सिफारिस समितिले आइतबार तीन जना उम्मेदवारहरू सन्तोषनारायण श्रेष्ठ, नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।