रूसी सुरक्षा प्रमुख र तालिवान अधिकारीबीच काबुलमा भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ११ मंगलबार
1.4k
Shares
काठमाडौँ । रूसी सुरक्षा अधिकारी सर्गेई शोइगुले सोमबार अफगानी सरकारी अधिकारीसँग भेटवार्ता गरेका छन् । तालिवानी अधिकारीहरूसँगको भेटका क्रममा उनले तालिबान समूहलाई प्रतिबन्धित सङ्गठनको सूचीबाट चाँडै हटाउने आश्वासन दिएको बताइएको छ ।
रूसको सुरक्षा परिषद्का सचिव शोइगुले काबुलमा उपप्रधानमन्त्री अब्दुल गनी बरादरको नेतृत्वमा रहेको अफगान समूहसँग भेटवार्ता गरेका हुन् ।
सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि विदेशी अधिकारीहरूको भ्रमण कम भएको छ । कुनै पनि देशले पूर्व विद्रोही समूहको सरकारलाई औपचारिक रूपमा मान्यता दिएका छैनन् ।
तालिवान सरकारले महिलामाथि लगाएको प्रतिबन्धले उनीहरूलाई धेरै पश्चिमा राष्ट्रहरूमा पराया बनाएको छ तर काबुलले आर्थिक र सुरक्षा सहकार्यमा जोड दिँदै आफ्ना क्षेत्रीय छिमेकीहरूसँग कूटनीतिक पहल गरिरहेको छ ।
बरादरको कार्यालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोइगुले अफगानिस्तानसँग द्विपक्षीय सहयोगको स्तर बढाउन रूसको तर्फबाट प्रतिवद्धता जनाउनुभएको छ ।”
उनले दुई देशबीच राजनीतिक र आर्थिक सम्बन्ध विस्तार गर्न ‘इस्लामिक इमिरेट्स (अफगानिस्तान)’ को नाम चाँडै नै रूसको कालोसूचीबाट हटाइने पनि घोषणा गर्नुभएको बताइएको छ । इस्लामिक इमिरेट्स तालिबान सरकारले आफूलाई सङ्केत गर्न प्रयोग गर्ने नाम हो।
विश्लेषकहरुका अनुसार मस्कोले सुन्नी लडाकू समूहको अफगानस्थित शाखा इस्लामिक स्टेट खोरासान (आइएस-के) को खतराको सामना गर्न काबुलसँग सहकार्य गर्न चाहेको हुन सक्छ ।
गत मार्चमा मस्कोको एक कन्सर्ट हलमा आइएस-केका बन्दुकधारीले आक्रमण गर्दा १४० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
तालिवान अधिकारीहरूले पटक-पटक सुरक्षालाई आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आएका छन् र अफगानिस्तानबाट विदेशी आक्रमण गर्ने लडाकूहरूलाई देशबाट निकाला गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
अफगानिस्तानका लागि रूसका राजदूत दिमित्री झिर्नोभले जुलाईमा बताएका थिए, “आतङ्कवादविरुद्धको लडाइँमा तालिबान पक्कै पनि हाम्रो सहयोगी हो ।”
उनले भने, “उनीहरूले आतङ्कवादी समूहहरूलाई उन्मूलन गर्न काम गरिरहेका छन् ।”