बाढी-पहिरोमा उद्धारको लागि १६ सय ३० सशस्त्र प्रहरी परिचालित
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
665
Shares
काठमाडौँ। अविरल वर्षाको कारण नेपालका विभिन्न जिल्लाहरूमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६३० जना जनशक्ति परिचालन भएको छ। वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म ११ जना बेपत्ता, १० जनाको मृत्यु, १ सय ६२ स्थानहरूमा भौतिक क्षति भएको छ भने सुरक्षा फौजले ७ सय ६० जनाको सकुशल उद्धार गर्न सफल भएका छन्।
पाँचथर जिल्लाको विभिन्न ठाउँहरूमा २ जनाको मृत्यु, १ ठाउँमा भौतिक क्षति भएको छ भने सो स्थानमा उद्धारको लागि १० जना सुरक्षा फौज खटिएको छ । यसै गरी ओखलढुङ्गामा पनि एक स्थानमा भौतिक क्षति भएको छ । धनकुटा जिल्लामा पहिरोको कारण २ जना बेपत्ता, २ जनाको मृत्यु र एक स्थानमा भौतिक क्षति भएको छ भने उद्धारका लागि १३ जनाको सुरक्षा फौज खटिएको छ ।
यसै गरी झापा जिल्लाका विभिन्न ठाउँमा डुबानमा परी ७७ स्थानहरूमा भौतिक क्षति, १ जनाको मृत्यु भएको छ भने ४३ जनाको सुरक्षा फौजले ३ सय २५ जनाको सकुशल उद्धार गरेका छन् ।
मोरङका विभिन्न ठाउँहरूमा डुबानमा परि ५८ स्थानहरूमा भौतिक क्षति भएको छ भने २३ जनाको सुरक्षा फौजले १ सय ७६ जनाको सकुशल उद्धार गरेका छन् । यसै गरी रौतहटका १० स्थानहरूमा डुबानमा परी भौतिक क्षति भएको छ भने उद्धारका लागि १५ जना सुरक्षा फौज परिचालन भएको छ ।
धादिङमा खोलाले बगाई एक जना बेपत्ता, एक जनाको मृत्यु भएको छ भने २ जनाको सकुशल उद्धार गरिएको छ । यसै गरी गोरखामा उद्धारका लागि २५ जना सुरक्षा टोली परिचालन भएको छ ।
सिन्धुली जिल्लामा आएको बाढीले ५ स्थानहरूमा भौतिक क्षति भएको छ भने ११ जनाको सुरक्षा फौज परिचालन भई ३३ जनाको सकुशल उद्धार गरेको छ । यसै गरी काभ्रे जिल्लामा आएको पहिरोमा परि ३ जनाको मृत्यु, ७ स्थानहरूमा भौतिक क्षति भएको छ उद्धारका लागि १५ जनाको सुरक्षा फौज परिचालन भएका छन् ।
यसै गरी काठमाडौँ जिल्लाका विभिन्न स्थानहरूमा आएको बाढीका कारण एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् भने १ हजार ४ चार ७४ जना सुरक्षा फौज परिचालन भई २ सय २४ जनाको सकुशल उद्धार गरेका छन् । यसै गरी ललितपुर जिल्लाका विभिन्न ठाउँहरूमा आएको पहिरोले १ जनाको मृत्यु, ६ जना बेपत्ता भएका छन् भने २ स्थानहरूमा भौतिक क्षति भएको छ । उपत्यकाको ३ वटै जिल्लामा मोटरबोटसहितको सशस्त्र प्रहरी बल नेपालको टोली परिचालित छ ।