आरक्षणको विषयमा भारत बन्द आह्वानले बिहार सहितका राज्य प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
1.4k
Shares
काठमाडौँ । दलित र जनजाति संगठनहरूले आज भारत बन्दको आह्वान गरेका छन् । अनुसूचित जाति र जनजातिको लागि आरक्षणमा क्रीमी लेयर सम्बन्धी सर्वोच्च अदालतको निर्णयको विरोधमा आज भारत बन्दको घोषणा गरिएको हो ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारत बन्दको असर देशका धेरै राज्यमा देखिएको छ । रिपोर्टका अनुसार बिहारको जेहानाबादमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
बिहारको आराहमा प्रदर्शनकारीले रेलमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीले दरभंगा–दिल्ली बिहार सम्पर्क एक्सप्रेस रेललाई पनि दरभंगा रेलवे स्टेशनमा रोकेका थिए।
पीटीआईका अनुसार भारत बन्दको प्रभाव झारखण्डको राँचीमा पनि देखिएको छ । यहाँ निजी बस सेवा बन्द गरिएको छ ।
यस बन्दलाई समाजवादी पार्टी (एसपी), बहुजन समाज पार्टी (बसपा) र राष्ट्रिय जनता दल (राजद) ले पनि समर्थन गरेका छन् ।